वाणिज्य बैंकहरूले घटाए ब्याजदर, मुद्दतीमा एकल अंक कायम

 

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले मुद्दती तथा बचत खाताको ब्याजदर वैशाखदेखि घटाउने निर्णय गरेको संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले जानकारी दिए ।

यो निर्णयसँगै वैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झर्ने भएको छ । कोइरालाका अनुसार व्यक्तिगत मुद्दती खातामा वाणिज्य बैंकहरुले अधिकतम ९.९ प्रतिशतसम्म ब्याजदर दिनेछन् । त्यस्तै संस्थागत खातामा ७.९ प्रतिशतसम्म दिनेछन् । हालसम्म व्यक्तिगत मुद्दतीमा ११ तथा संस्थागत मुद्दतीमा ९ प्रतिशतसम्म ब्याजदर दिँदै आएका थिए ।

त्यस्तै बचत खाताको ब्याजदर पनि घट्ने भएको छ । वैशाखदेखि बैंकहरुले साधारण बचत खातामा ५.४ देखि ७.४ प्रतिशतसम्म ब्याजदर दिने छन् । ‘बैंकहरुमा अहिले लोनेबल फन्ड पनि केही बढेको अवस्था छ, त्यसकारण ब्याजदर घटाउने निर्णय गरेका हौं’ कोइरालाले भने ‘लोनेबल फण्ड टाइट हुँदा ब्याजदर बढ्ने र लोनेबल फण्ड बढी हुँदा ब्याजदर घट्ने सामान्य सिद्धान्त नै हो ।’

त्यस्तै कर्जाको ब्याजदर वैशाखदेखि सामान्य घट्ने भएको छ । चैत मसान्तसम्मको आधार दरका आधारमा वैशाखदेखि कर्जाको पनि ब्याजदर घट्ने संघले जनाएको छ । अहिले निक्षेपमा घटेको ब्याजदरको प्रभाव भने केही महिनापछि मात्रै कर्जाको ब्याजमा पर्नेछ । नयाँ आधार दर गणनापछि बैंकहरुले कर्जाको ब्याजदर सोअनुसार सामायोजन गर्ने गर्छन् । निक्षेपको ब्याजदर घट्दा आधारदर पनि घट्न जान्छ । हाल ऋणीहरुबाट वाणिज्य बैंकहरुले १४ प्रतिशतभन्दा बढी ब्याज नलिएको दाबी गर्दै आएका छन् ।

Share your love