रौतहटमा नक्कली नोट नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा हवाई फायर

रौतहटको मौलापुर नगरपालिकाबाट प्रहरीले ८७ हजार रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ। प्रहरीले मौलापुर नगरपालिका–७ बस्ने राजाराम साहको घरबाट उक्त नक्कली नोट नियन्त्रणमा लिएको हो।

जाली नोटको कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले साहको घरमा खानतलासी गर्नेक्रममा कोठामा लुकाएर राखिएको एक थान कटुवा पेस्तोलसहित एक हजार दरका ८७ वटा नक्कली नोट बरामद गरेको हो। साथै ना ३३ प २४५१ र ना ३ प १६८१ नम्बरका दुई थान मोटरसाइकल पनि प्रहरीले बरामद गरेको थियो।

नक्कली नोटसहित प्रहरीले बाराको आदर्श कोतवाल गाउँपालिका–६ बस्ने सोनु भन्ने आनन्द कुश्वाहा, प्रतिमादेवी कुश्वाहा,अमृता कुमारी, बृज किशोर मुखिया, रौतहट मौलापुर नगरपालिका वडा नम्बर ७ बस्ने राजाराम साह र वडा नम्बर ६ बस्ने धिरज प्रसाद ‍जैसवाललाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता सुनिल मल्लले जानकारी दिए।

साथै नक्कली नोट बरामद गर्नेक्रममा पक्राउ परेकाहरुले प्रहरीमाथि ढुंगा मुढा प्रहार गर्न थालेपछि प्रहरीले आत्मरक्षाको लागि दुई राउण्ड हवाई फायर पनि गरेको उनले बताए।

ढुंगा प्रहारबाट दुई जना म्यादीसहित ६ प्रहरी घाइते भएको मल्लले बताए। पक्राउ परेकाहरुलाई खोटा चलन तथा हातहतियार शिर्षकअन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गराइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Share your love