राष्ट्रपति र उपराष्ट्रपतिको चुनावकाे मतभार २०६८ को जनगणनाको आधारमा

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावकाे मतभार २०६८ सालको जनगणनाको आधारमा गरिने बताउनुभएको छ ।

सोमवार नयाँ बानेश्वरमा रहेकाे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति र उपराष्ट्रपतिकाे चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले २०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति र उपराष्ट्रपतिकाे चुनावकाे मतभार कायम गरिने बताउनुभयो । उहाँले २०६८ को जनगणनाको आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावसम्बन्धी कानुनको अनुसूची १ मा उल्लेख भए बमोजिमको मतभारलाई आधार मानी चुनाव सम्पन्न गराउने स्पष्ट पार्नुभयो ।

प्रमुख आयुक्त थपलियाले चुनावसम्बन्धी कानुनले लगत्तै सम्पन्न भएको मतगणनाको नतिजालाई आधार मानेर मतभार कायम गर्ने व्यवस्था गरेको भए पनि भर्खरैकाे जनगणनापछिको आधिकारिक नतिजा आयोगलाई प्राप्त नभएकाले २०६८ को जनगणनालाई आधार मान्नुपरेको उल्लेख गर्नुभयो । उहाँले २५ गते हुने चुनावका लागि दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले २५ गते दिउँसो ३ बजेसम्ममा मतदान सम्पन्न गरेर ४ बजेदेखि मतगणना गरी बेलुकी ७ बजेभित्रमा परिणाम प्रकाशित गरिसक्ने आयोगको आन्तरिक तयारी रहेको बताउनुभयो । कुनै उम्मेदवारले बहुमत प्राप्त नगरेमा २६ गते नै अर्को चुनाव गर्ने उहाँले जानकारी दिनुभयो । चुनावका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ ।

 

Share your love