राजनीतिमा लागेको ४ दशकपछि मन्त्री बने रिजाल

वीरगन्ज — प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बने । शुक्रबार मात्रै उनले शपथ लिएका छन् ।

पछिल्लो ४ दशकयता संसदीय राजनीतिमा होमिएका रिजाल पहिलोपटक मन्त्री बनेका हुन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रिजालले एमालेका जालिम मियालाई ५ हजार ५ सय २३ मतले पराजित गरेका थिए । यसअघिका दुईवटा निर्वाचनमा रिजालले हार बेहोर्नु परेको थियो ।

२०४९ को निर्वाचनमा रिजाल पहिलो पटक विजयी भएका थिए । त्यसपछि २०५२ को मध्यावधिमा पनि रिजाल विजयी भएका थिए । २०५६ को निर्वाचनमा पराजित भएका रिजाल २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा विजयी भएका थिए ।

त्यसपछि ०७० र ०७४ को निर्वाचनमा लगातार रिजाल पराजित भएका थिए । २०२७ मा नेपाल विद्यार्थी संघको गठन हुँदा रिजाल वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रतिनिधित्व गरेका थिए ।

२०३४ मा भारत बिहारको पटना सम्मेलनमा रिजाल कांग्रेस पर्साको सचिव भएका थिए । २०५१ मा उनी पार्टीको जिल्ला सभापति भएका थिए । कांग्रेसमा देउवा निकट रहेका उनी पार्टी विभाजन हुँदा प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए ।

वि.सं २०१३ असोज १९ मा पर्साको मसिहानी धरमपुर टोलमा जन्मेका रिजालका बाबु मेघराज उपाध्याय राणा शासनविरुद्धको आन्दोलनमा होमिएका थिए । उपाध्याय २०१५ सालको निर्वाचनमा एक प्रतिस्पर्धी थिए ।

Share your love