राजनीतिक हस्तक्षेपका कारण कर्मचारी परिचालनमा समस्या भयो : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपका कारण कर्मचारी परिचालनमा समस्या रहेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयबारे बोल्दै उहाँले पार्टी पिच्छेका मन्त्री, सांसद, मेयरलगायतका जनप्रतिनिधिले आफू अनुकूल कर्मचारी माग गर्दा उनीहरुको परिचालनमा समस्या देखिएको प्रष्टयाउनु भएको हो ।

मन्त्री मोदीले कर्मचारीहरुले दूर्गम क्षेत्रमा जानै नचाहेको गुनासो पनि गर्नुभयो । आफूले भने दूर्गम र सुगम मिलाएर उनीहरुको सरुवा प्रणालीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको पनि उहाँको भनाई थियो ।

मन्त्री मोदीले स्थानीय तहको अनिमितता रोक्नका लागि आफूले निमित्त कर्मचारी पठाउन नचाहे पनि त्यसका लागि कर्मचारीहरुकै अभाव रहेको पनि स्मरण गराउनुभयो ।

मन्त्री मोदीले काठमाडौं र त्यसवरपर मात्रै रहने कर्मचारीहरुमा विकृत चाहना रहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न आफू लागि परेको बताउनुभयो । उहाँले संघीय निजामती सेवा ऐन चालू संसदबाट पारित गराउने गरी ल्याउन चाहेको पनि बताउनुभयो ।

मन्त्री मोदीले अर्थ मन्त्रालय र कानून मन्त्रालयमा स्विकृतिका लागि सो ऐनको मस्यौदा पठाइएको पनि बैठकलाई जानकारी गराउनुभयो ।

Share your love