राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा फरक हुनुपर्छ भनेर हेक्का राखेको छु : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा फरक हुनुपर्छ भनेर हेक्का राखेको बताउनुभएको छ ।

गोरखा भ्रमणका क्रममा आज आइतवार गोरखा सङ्ग्रहालयमा संक्षिप्त सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नागरिकसँग जोडिने र पिरमर्का बुझ्ने विषयमा राजतन्त्रका राष्ट्राध्यक्ष र गणतन्त्रका राष्ट्राध्यक्षबीच फरक हुनैपर्छ भन्नेबारेमा आफूले हेक्का राखेको बताउनुभएको हो । उहाँले कुनै पनि व्यक्तिको आउजाउलाई ‘सवारी’ भन्ने शब्द प्रयोग नगर्न पनि सुझाव दिनुभयो ।

विशिष्ट व्यक्ति आउजाउ गर्दा सवारी भयो भन्दाखेरी सामन्तवादी शैलीजस्तो देखिने र ठेट नेपाली शब्द पनि नभएकाले बरु आवागमन भन्न पनि राष्ट्रपति पाैडेलले सुझाव दिनुभयो । पछिल्लो समय उहाँले आफ्नो भ्रमणका बेला अरू गाडी र नागरिकको आवागमन नरोक्न निर्देशन दिँदै आउनुभएको छ ।

यसैबीच राष्ट्रपति पाैडेलले बुढीगण्डकी आयोजना, पालुङटार विमानस्थल निर्माण र मनास्लु पदमार्ग राम्रोसँग सञ्चालन गर्न सकेमा गोरखाको मुहार फेरिने पनि उल्लेख गर्नुभयो ।

राष्ट्रपति भएपछि पहिलो पटक काठमाण्डौबाहिरको भ्रमण गर्नुभएका पौडेलले पत्नीका साथमा गोरखकाली र गोरखनाथ मन्दिरमा झन्डै आधा घण्टा पूजाआजा गर्नुभयो । यस्तै उहाँले पैदलै हिँडेर गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गर्दै पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण पनि गर्नुभयाे ।

 

Share your love