रवि लामिछानेको जाहेरी दर्ता गर्न नपर्ने सरकारी वकिलको निष्कर्ष

जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान जारी रहेकाले जाहेरी दर्ता गर्नु नपर्ने निष्कर्ष निकालेको छ ।

सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा छानबिन चलिरहेको सूचना आएको भन्दै जाहेरीमा केही गर्नुनपर्ने भन्दै थन्क्याउने निर्णय गरेको हो । युवराज पौडेलले सभापति लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा दिएको जाहेरी सर्वोच्च अदालतले नागरिकता मुद्दामा गरेको फैसलाको पूर्णपाठ नआइनसकेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो ।

प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरेपछि पौडेलले जाहेरी दर्ता गर्न नमानेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए । सरकारी वकिल कार्यालयले यसअघि लामिछानेको राहदानीको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागबाट विवरण माग गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयबाहेक अरु निकायबाट जवाफ नआएको सरकारी वकिल कार्यालयले जनाएको छ । लामिछानेको राहदानीको विषयमा केही महिनाअघि गृह मन्त्रालयमा परेको उजुरी जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको हो ।

प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पेश गरेपछि मात्रै अध्ययन गरी थप निर्णय लिने सरकारी वकिल कार्यालयले जनाएको छ ।

Share your love