युवा उम्मेदवारको सङ्ख्या पहिलेभन्दा कम

काठमाण्डौ -चुनावमा धेरै मतदाताले युवा उम्मेदवारलाई प्राथमिकता दिन आवाज उठाउँदै आए पनि मुख्य दलहरुले यसको बेवास्ता गरेका छन् । ठूला पार्टीहरुबाट युवा उम्मेदवारको सङ्ख्या कम छ । स्वतन्त्रबाट भने धेरै युवाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगको विवरणअनुसार एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाबाट उम्मेदवार बन्ने युवाको सङ्ख्या ४६ मात्रै छ । ४० वर्ष उमेरसम्मका उम्मेदवारमध्ये एमालेबाट सात, माओवादीबाट ६, कांग्रेसबाट तीन तथा जसपा र लोसपाबाट १५र१५ जना छन् ।

एकीकृत समाजवादीबाट ४० वर्षमुनिका युवा उम्मेदवार नै छैनन् । प्रतिनिधि सभा र र प्रदेश सभा चुनावका लागि देशभर ५ हजार ६ सयभन्दा धेरै उम्मेदवार रहेकोमा ४१ देखि ५० वर्ष उमेर समूहका बढी छन् ।

मुख्य दलहरुले आकाङ्क्षी युवालाई टिकटमा वञ्चित गर्दा यसअघिको चुनावमा भन्दा कम युवाको उम्मेदवारी परेको छ । ४० वर्षसम्म उमेर समूहका ३० प्रतिशत हाराहारीमा मात्रै युवा उम्मेदवार छन् । यसअघि २०७४ को संसदीय चुनावमा ३५ प्रतिशत र गएको पालिका चुनावमा ४१ प्रतिशत युवा उम्मेदवार थिए ।

महिला उम्मेदवारको सङ्ख्या झन् कम छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ९ प्रतिशतको हाराहारीमा मात्र महिला उम्मेदवारी परेको छ । एमालेले १२, माओवादीले ८, कांग्रेसले ६, राप्रपाले ८, जसपाले ७, लोसपाले ३ र एकीकृत समाजवादीले १ जना महिलालाई मात्र टिकट दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिने महिलाको सङ्ख्या ८५ छ ।

 

Share your love