युक्रेनका चार मन्त्री, पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीद्वारा राजीनामा

युक्रेनका चार जना सहायक मन्त्री र पाँच क्षेत्रीय गभर्नरसहित उच्च अधिकारीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा सरकारका शीर्ष सल्लाहकारसमेत रहेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचारविरोधी अभियान सुरु गरेसँगै सरकारका वरिष्ठ अधिकारीहरूले राजीनामा दिन थालेका हुन् ।

पछिल्लो पटक घुस लिएको आरोपदेखि महँगाे मूल्यमा खाद्यान्न किनिएको विवरण सार्वजनिक भएको थियो । राष्ट्रपति जेलेन्स्कीले कानुन सबैलाई बराबर हुनुपर्ने नागरिकको माग पूरा गर्ने गरी काम गरेको उहाँका एक जना सहयोगीले बताएका बीबीसीले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीले स्वीकृतिप्राप्त काममाबाहेक सरकारी कर्मचारीलाई देश छाड्न प्रतिबन्ध लगाउनुभएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०२१ मा निकालेको एक प्रतिवेदनमा भ्रष्टाचार हुने देशको सूचीमा युक्रेनलाई १८० मध्ये १२२औँ स्थानमा राखेको थियो । पश्चिमा साझेदारहरूबाट अर्बौँ डलर सहायता लिएर त्यसको परिचालन गर्नका लागि समेत युक्रेनले आफूलाई भ्रष्टाचारसँग जुझ्ने मामिलामा बलियो देखाउनुपर्ने चुनौती छ।

 

Share your love