यस वर्षको मानवअधिकार पुरस्कार कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई

सरकारले यस वर्षको मानवअधिकार पुरस्कार मानव अधिकारकर्मी प्रा.डा कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई दिने भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले व्यक्तितर्फ श्रेष्ठलाई र संस्थातर्फ मानव सेवा आश्रमलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ । मानव सेवा आश्रमले काठमाण्डौका सडकपेटी तथा अन्य सार्वजनिक ठाउँमा रहेका असहाय, बेवारिस व्यक्तिको उद्धार, उपचार तथा मरेपछि शवको सद्गत वा व्यवस्थापनलगायतका काम गर्दै आएको छ ।

यस्तै लामो समयदेखि मानवअधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान, अध्यापन, लेख रचनाको प्रकाशन, प्रवर्द्धन र पैरवी गर्ने कार्यमा निरन्तररूपमा पुर्‍याएको योगदानको लागि प्रा डा श्रेष्ठलाई याे पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

सरकारले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको उपलक्ष्यमा मानवअधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई कदर गर्ने उद्देश्यले मानवअधिकार पुरस्कार अक्षय कोष स्थापना गरी वि.सं २०७८ देखि मानवअधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने एक व्यक्ति र एउटा संस्थालाई पुरस्कृत गर्न थालेको हो । आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ ।

 

Share your love