यमपञ्चक सुरु हुँदै, आज धनतेरस र यमदीप दान

 यमपञ्चक अर्थात तिहार आजदेखि सुरु हुँदैछ । आज दिउँसोपछि कात्तिक कृष्ण त्रयोदशी तिथि लाग्ने भएकाले बेलुकी यमदीप दान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार भने भोलि परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ । समितिका अनुसार  भोलि बेलुकी ५ बजेर ४ मिनेटसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धनत्रयोदशी धनतेरस पर्व पनि आजै परेको छ । धनवन्तरी जयन्ती भने भोलि आइतबार परेको छ । तिथिको घटबढका कारण पर्सि सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । पर्सि ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ ।

गाईपूजा ८ गते मङ्गलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलिपूजा र आत्म अर्थात म्ह पूजा कात्तिक ९ गते बुधबार परेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत ११४३ पनि बुधबारदेखि सुरु हुने समितिले जनाएको छ ।

यस वर्षको भाइटीका १० गते बिहीबार परेको छ । १० गते बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।

Share your love