म्यानपावर व्यवसायीलाई सुध्रिन समय दिन्छाैँ : श्रम मन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे तत्काल कारबाही गर्ने चेतावनी दिनुभएको छ । आज आइतवार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनै पनि म्यानपावर र व्यक्तिगतरूपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताउनुभएको हो ।

उहाँले सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीहरूलाई सुध्रनका लागि समय दिएको पनि बताउनु भयो । ठगी गर्ने म्यानपावरलाई कारबाही गर्न मन्त्रालय कसैको दबाबबाट पछाडि नहट्ने उहाँको भनाइ छ ।

मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगतरूपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यहीअनुसार अनुसन्धान गरिरहेको बताउनु भयो ।

उहाँले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि आफू मन्त्री भएर मन्त्रालयमा प्रवेश गरेदेखि लागिपरेको जिकिर गर्नुभयो । मन्त्री अर्यालले श्रम मन्त्रालयमा कुनै पार्टीको मन्त्री नभएर तीन करोड नेपालीको मन्त्रीको रूपमा मन्त्रालयमा काम गर्न आएको बताउनुभयो ।

उहाँले सम्पूर्ण मापदण्ड पूरा गरेर मन्त्रालयमा मन्त्री भएर आएको भन्दै श्रम मन्त्री भएर मन्त्रालयमा रहँदासम्म पार्टीको मन्त्री नभएर नागरिकको काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

Share your love