मिटर ब्याजीविरुद्ध मधेस प्रदेशमा १३ सयभन्दा बढी उजुरी

जनकपुरधाम – मधेस प्रदेशमा गृह मन्त्रालयले निर्धारण गरेको समयावधिमा मिटर ब्याजीविरुद्ध १ हजार ३६१ वटा उजुरी परेको छ। मधेस प्रदेशमा ८ वटा जिल्ला रहेकामा गृह मन्त्रालयको निर्देशनअनुसार भदौ ५ गतेसम्म १३ सयभन्दा बढी मिटर ब्याजीविरुद्ध उजुरी परेको यहाँका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

साउन २७ गते गृहले भदौ ५ गतेभित्र आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यथासम्भव बढी तथ्यसहित उजुरी दर्ता गराउन आग्रह गरेको थियो।

गृहले देशभर मिटर ब्याजीको जालो फैलिएको हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो आग्रह गरेको थियो। यस अवधिमा विभिन्न जिल्लामा उजुरीसमेत परेको हो।

मधेस प्रदेशको सर्लाहीमा सबैभन्दा बढी मिटर ब्याजीविरुद्ध उजुरी परेको हो। भदौ ५ गतेसम्म यहाँ ४२७ जनाले मिटर ब्याजीविरुद्ध उजुरी दिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिए।

सिरहामा २८९ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत भवेशकुमार झाले बताए।

यस्तै, महोत्तरीमा १९१ जनाले मिटर ब्याजी विरुद्ध उजुरी दर्ता गराएका छन्। महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले गृहले निर्धारण गरेको अवधिमा १९१ जनाले उजुरी दर्ता गराएको बताए। उनले उजुरी पुरुष मात्र नभई महिलाविरुद्ध समेत परेको जानकारी दिए।

धनुषामा १४० वटा मिटर ब्याजीविरुद्ध उजुरी परेको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गृहले निर्धारण गरेको अवधिमा मात्र १४० वटा उजुरी परेको र यसभन्दा पहिला पनि केही उजुरी परेको र अहिले पनि उजुरी लिइरहेको बताए।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मिटर ब्याजीविरुद्ध उजुरी दिने अधिकांशसँग प्रमाण नरहेको बताए। जिल्लामा गृहले निर्धारण गरेको अवधिमा ११४ वटा उजुरी परेको छ। उनले भने, ‘हामीकहाँ ११४ वटा उजुरी परेको छ। धेरैले प्रमाणसमेत जुटाउन सकेको छैन। गृहले एउटा छानबिन समिति गठन गरेको हो, सोही निर्देशनअनुसार अगाडिको कदम चालिने हो।’

यस्तै, पर्सामा ८३ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। यस्तै, बारामा ४६ जनाले मिटर ब्याजीविरुद्ध उजुरी दिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए।

रौतहटमा सबैभन्दा कम ४१ जनाले मिटर ब्याजीविरुद्ध उजुरी दर्ता गराएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए।

Share your love