मार्चमा झन्डै १ लाख जना पर्यटक नेपाल आए, पोहोरभन्दा दाेब्बरले धेरै

मार्च महिनामा नेपालमा झन्डै एक लाख जना विदेशी पर्यटक आएका छन् । मार्च महिनामा ९९ हजार चार सय २६ जना पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएका र भारतसँगको नाकाबाट आएका तेस्रो देशका विदेशीहरूको सङ्ख्या हो ।

सबैभन्दा धेरै पर्यटक भित्रिने १० देशमध्ये भारतबाट १५ हजार नौ सय ११, अमेरिकाबाट नाै हजार पाँच सय ५७, बेलायतबाट छ हजार एक सय ३३, जर्मनीबाट चार हजार एक सय ४९, श्रीलङ्काबाट तीन हजार आठ सय ९८, थाइल्यान्डबाट तीन हजार आठ सय २९, अस्ट्रेलियाबाट तीन जार छ सय ३५, फ्रान्सबाट तीन हजार नाै, चीनबाट दुई हजार छ सय ३५ र दक्षिण कोरियाबाट दुई हजार छ सय ३९ जना रहेका छन् ।

पोहोर अर्थात् सन् २०२२ को मार्चमा जम्मा ४२ हजार जना पर्यटक नेपाल आएकामा अहिले दोब्बरभन्दा धेरैले बढेर झन्डै एक लाख जना पुगेको हो । यस्तै कोरोना महामारीको बेला सन् २०२१ मा १५ हजार दुई सय जना पर्यटक आएका थिए ।

कोरोना सुरु हुनुअघि सन् २०१९ को मार्चमा नेपालमा एक लाख २७ हजार जना पर्यटक आएका थिए । कोरोना सुरु हुनुअघिको तुलनामा नेपालमा पर्यटक आगमन ७८ प्रतिशतले सुधार भएको पर्यटन बोर्डले जनाएको छ ।

 

Share your love