मन्त्री किरातीको प्रश्न : यात्रुको ‘ब्यागेज’ किन चोरियो ? विमानस्थलभित्र कुकुर, बाँदर कसरी पसे ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या र विकृतिबारे सम्बन्धित निकायका प्रतिनिधिसँग जवाफ माग्नुभएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रताप तिवारीलगायतका पदाधिकारीसँग छलफल गरेर मन्त्री किरातीले हरेक समस्या र विकृतिबारे जवाफ माग्नुभएको हो । उहाँले यात्रुका ब्यागेज चोरिएको घटना सत्य हो कि होइन, हो भने कसरी र कसले चोर्छ भनेर सोध्नुभएको छ ।

मन्त्री किरातीले अरू थुप्रै प्रश्नको जवाफ र नतिजा माग्नुभएको छ । अराइभलमा यात्रु लड्ने विद्युतीय भर्‍याङ के हुँदैछ, कहिलेसम्म बनिसक्छ ? सरसफाइ अभियान के–कस्तो चल्दै छ ? समयमा जहाज उड्दैछ कि छैन ? एअरपोर्टभित्र महँगी नियन्त्रण भयो कि भएन ?  ब्रेकविनाकाे ट्रली फेर्ने काम कहाँ पुग्यो ? शौचालयभित्र बजिरहेको सङ्गीत किन बन्द भयो ? महिला शौचालयमा स्यानिटरी प्याड राख्ने काम के भयो ? एअरपोर्ट अगाडिको ब्युटिफिकेशन के भयो ? एअरपोर्टभित्र कुकुर र बाँदर कसरी पस्यो ? एअरपोर्टभित्र वाइफाई प्रभावकारी किन चल्दैन ? लगायतका प्रश्न सोधेर मन्त्री किरातीले अब जवाफमात्रै नभई काम चाहिएको बताउनुभएको छ ।

 

Share your love