मधेश आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा मधेश प्रदेश सरकारले भोलि प्रदेशभरि बलिदानी दिवस मनाउन सार्वजनिक बिदा दिएको छ ।

मधेश प्रदेश सरकारद्वारा जारी गरिएको राजपत्रमा बलिदानी दिवसको अवसरमा प्रदेशभरि बिहीबार सार्वजनिक बिदा दिइएको कुरा उल्लेख गरिएको छ ।

मधेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा जारी गरिएको प्रदेश राजपत्र, २०७९ मा थप गरिएको बिदाहरूमा माघ ५ गते बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

माघ ५ गते मधेशको आन्दोलन स्मृति दिवस भन्दै देश सङ्घीयतामा गएपछि मधेश सरकारले माघ ५ गते सार्वजनिक बिदा दिँदै आएको छ ।  मधेश आन्दोलनको क्रममा शहादत प्राप्त वीर शहीदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइँदै आएको छ ।

सिरहा जिल्लाको लहानस्थित पहिलो मधेश आन्दोलनको क्रममा पहिलो पटक रमेश महतोले सहादत प्राप्त गर्नुभएको थियो ।