मतदान केन्द्रमा तयारीको काम अन्तिम चरणमा

भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि मतदान केन्द्रमा आवश्यक व्यवस्थापन र तयारीको काम अन्तिम चरणमा पुगेको छ । सबै मतदान केन्द्रमा हिजैदेखि महिला, पुरुष र अशक्त/अपाङ्गता भएका मतदाताको लागि छुट्टाछुट्टै लाइन बनाउने काम सुरु भएको छ ।

मतदान स्थल र मतदान केन्द्रमा आवश्यक सामग्री पुर्याउने काम पनि भैरहेको निर्वाचन आयोगले जनाएको छ । यी सबै काम आज सकिनेछ ।  सबै मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । देशभर १० हजार ८ सय ९२ मतदान स्थल र २२ हजार २ सय २७ मतदान केन्द्र रहेका छन् । त्यस्तै समानुपातिकमा मात्रै मत दिने अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र तोकिएको छ ।

चुनावका लागि मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी तथा नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख सुरक्षाकर्मी खटिएका छन् । चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् ।

प्रदेश १ मा ३३ लाख ९६ हजार ८ सय ६५, मधेसमा ३३ लाख ८६ हजार ६ सय २८, बाग्मतीमा ३४ लाख ७१ हजार ४ सय ९२, गण्डकीमा १८ लाख १७ हजार ५ सय ४१, लुम्बिनीमा ३२ लाख ४९ हजार ६ सय ३७, कर्णालीमा १० लाख ८ हजार ४ सय ३ र सुदूरपश्चिममा १६ लाख ५८ हजार ४ मतदाता छन् । मतदाता नामावलीमा नाम भएका २१ लाखभन्दा धेरै मतदाता विदेशमा रहेको अनुमान छ ।

निर्वाचन  आयोगका  अनुसार  प्रतिनिधि  सभा  सदस्यको लागि प्रत्यक्षतर्फ २ हजार ४१२ जना र समानुपातिकतर्फ  २  हजार  १९९  उम्मेदवार छन् । यस्तै, प्रदेश सभाका लागि प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ  ३  हजार  ७०८  जना  उम्मेदवार छन् ।

चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सुरक्षा व्यवस्था मिलाइसकेको आयोगले जनाएको छ । आयोगकाअनुसार हरेक मतदान केन्द्रमा सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था गरिएको छ ।

कुनै मतदान केन्द्रमा विवाद भएमा ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्थासमेत गरिएको आयोगले जनाएको छ । सुरक्षा जोखिमका आधारमा गस्ती परिचालन, क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको पनि आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जनाले पर्यवेक्षण गर्नेछन् । ४४ वटा स्वदेशी संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकले अनुगमन गर्ने गर्नेछन् ।

Share your love