भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० क्रिकेटमा बने पाँच विश्व कीर्तिमान

काठमाण्डौ -भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टी–२० क्रिकेटमा पाँच वटा विश्व कीर्तिमान बनेका छन् । भारतले दोस्रो टी–२० मा दक्षिण अफ्रिकालाई १६ रनले पराजित गरी तीन खेलको शृङ्खला एक खेल अगावै जितेको छ । भारतले पहिलो पटक घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध टी–२० शृङ्खला जित्न सफल भएको हो ।

डेविड मिलर टी–२० मा पाँचौँ नम्बरमा ब्याटिङ गर्दै दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । मिलरले यसअघि पाँचौँ नम्बरमा ब्याटिङ गर्दै सन् २०१७ मा बङ्ग्लादेशसँग अविजित शतकीय पारी खेलेका थिए । त्यस्तै चौथो विकेटका लागि सर्वाधिक ठूलो रनको साझेदारी भएको छ ।

दक्षिण अफ्रिकाका डी कक र मिलरले गरेको १ सय ७४ रनको अविजित साझेदारी टी–२० मा चौथो विकेटका लागि सर्वाधिक ठूलो हो । त्यस्तै भारतीय ब्याटर सूर्यकुमार यादव सबैभन्दा कम बलमा एक हजार रन पूरा गर्ने खेलाडी बनेका छन् । उनले ५ सय ७३ बलमा यो सफलता हात पारेका हुन् । भारत र दक्षिण अफ्रिकाबीचको खेलमा डेथ ओभरमा कुल १ सय ६० रन बनेको थियो । डेथ ओभर १६ देखि २० ओभरलाई मानिन्छ ।

भारतले डेथ ओभरमा ८२ र दक्षिण अफ्रिकाले ७८ रन जोडेको थियो । त्यस्तै भारत टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध सर्वाधिक योगफल बनाउने टोली बनेको छ । यसअघि दक्षिण अफ्रिकाविरुद्ध सन् २०१५ मा वेस्टइन्डिजले ६ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो । टी–२० मा सर्वाधिक ठूलो योगफल अफगानिस्तानले सन् २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएको थियो ।

हिजो गुवाहाटीमा भएको खेलमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो । भारत पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टी–२० भोलि हुनेछ । त्यसपछि तीन एकदिवसीय खेल हुनेछ ।

Share your love