भारतबाट घटेर आउँदा पनि आयल निगमले किन घटाएन मुल्य ?

पछिल्लो समय भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

सरकारी स्वामित्वको आयल निगमले मूल्य समायोजन गर्नुको साटो ऋणमै रहेको बताएर नाफा कमाउनमै ध्यान दिन थालेको छ। नयाँ मूल्यसूचीमा खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ । पछिल्लो समय भारतबाट घटेर आएको पेट्रोलियम मूल्य समायोजन नगरे निगमले दैनिक २ करोड नाफा कमाउनेछ । निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा ५८ करोड बढी नाफा हुनेछ ।

भारतले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई डिजेलमा प्रतिलिटर ११ रुपैयाँ नाफा हुनेछ । त्यस्तै, पेट्रोलमा प्रतिलिटर १३ र मट्टीतेलमा प्रतिलिटर ३५ रुपैयाँ नाफा हुनेछ । यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४२ रुपैयाँ नाफा हुनेछ । निगम घाटामा भएको खाना पकाउने ग्यासमा मात्रै हो । ग्यासको घाटा पनि घटेर प्रतिसिलिन्डर २७७ रुपैयाँमा झरेको छ ।

निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै आए पनि पछिल्लो समय भारतबाट मूल्य बढेर आउँदा नेपालमा बढाइहाल्ने र घटेर आउँदा समायोजन गर्न आनाकानी गरिरहेको छ ।

सरकारी स्वामित्वको संस्थानले उपभोक्तामाथि खेलवाड गरिरहेको भन्दै उपभोक्ता हित सम्बद्ध विभिन्न संघ–संस्थाले विरोध गर्दै आएका छन् ।

Share your love