ब्राजिलको अमेजन वन फँडानी दर एक वर्षमा झण्डै १२ प्रतिशतले घट्यो

ब्राजिलको अमेजनमा एक वर्षमा वन फँडानी दर झण्डै १२ प्रतिशतले घटेको पाइएको छ । सन् २०२१ को अगष्टदेखि सन् २०२२ को जुलाईसम्म वन फँडानी दर ११ दशमलव २७ प्रतिशतले घटेको हो ।

नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्चले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो १२ महिनामा ११ हजार ५६८ वर्ग किलोमिटर वन विनाश भएको छ भने अघिल्लो १२ महिनामा १३ हजार ३८ वर्ग किलोमिटर वन विनाश भएको थियो । अमेजनको वन फँडानी दर विगत दुई दशक अर्थात् सन् २००४ देखि उच्च बिन्दुमा पुगेको थियो ।

यो अवधिमा अमेजनको २७ हजार ७०० वर्ग किलोमिटर जङ्गल नष्ट भएको छ । ब्राजिल सरकारले सन् २०३० सम्ममा अवैध वन फँडानी अन्त्य गर्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनका पछिल्ला संस्करणमा भएका लक्ष्यप्रति प्रतिबद्ध रहेको समेत बताएको छ ।

विश्वको सबैभन्दा ठूलो घना जङ्गलको क्षेत्र अमेजन जलवायु परिवर्तन न्यूनीकरणका लागि निकै महत्त्वपूर्ण मानिएको छ । जैविक विविधताको खानी मानिने अमेजन वनले अमेजन नदि जलाधार क्षेत्रको धेरै भू–भाग ओगटेको छ ।

अमेजन जङ्गलको झण्डै ६० प्रतिशत भू–भाग ब्राजिलमा रहे पनि पेरु, कोलम्बियालगायतका देशमा पनि फैलावट छ । अमेजन क्षेत्रमा ३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइन्छन् अनि दशलाख जनजातीय समुदायको बसोबास रहेको छ ।

 

Share your love