बैतडी जीप दुर्घटना अपडेट : ज्यान गुमाउने चार प्रहरीको परिचय खुल्यो

बैतडीमा भएको दुर्घटनामा ज्यान गुमाएका चार जना प्रहरीको परिचय खुलेको छ। प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउद र बिर्खबहादुर विष्टको ज्यान गएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।

लोकबहादुर, रमेश र बिर्खबहादुरको घटनास्थलमै ज्यान गएको हो भने अर्जुनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ज्यान गएको हो।

दुर्घटनामा परेर आठ जना प्रहरी र एक चालक घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल, प्रहरी जवान पुतली खड्का, प्रहरी जवान नरेश कठरिया, आशा धामी, भानु विष्ट, टीकेन्द्र ऐरी, चन्द्रसिंह ठगुन्ना र चालक देवराम महर रहेका छन् ।

घाइतेमध्ये गणेश र पुतलीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो। अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

उपचाररत नरेश, आशा र देवरामको अवस्था पनि गम्भीर रहेकाले उनीहरूलाई पनि थप उपचारका लागि हेलिकप्टरमार्फत् पठाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जीप बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोलामा दुर्घटनामा परेको थियोे । जीपमा १२ प्रहरी र एक चालक गरी १३ जना रहेका थिए । जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर पाटन फर्किँदै गरेको जीप बिहान ७ बजे दुर्घटनामा परेको हो ।

Share your love