बेलायतका चान्सलर हन्टले उल्ट्याए प्रधानमन्त्री ट्रसका आर्थिक नीति

बेलायतका नवनियुक्त चान्सलर जेरेमी हन्टले प्रधानमन्त्री लिज ट्रस सरकारले जारी गरेका सबैजस्तो प्रमुख र महत्त्वपूर्ण आर्थिक नीतिहरू उल्ट्याइदिनुभएको छ । उहाँले हप्तौँ लामो वित्तीय उथलपुथल अन्त्य गर्ने प्रयास स्वरूप यो कदम चालेको बताउनुभएको छ ।

आफ्ना योजनाहरू द्रुतगतिमा कार्यान्वयन गरेको र बजारलाई सहज र आश्वस्त तुल्याउन यी कदमहरू आवश्यक रहेको पनि चान्सलर हन्टको भनाइ छ । करमा व्यापक कटौती गर्नेसम्बन्धी सरकारको प्रस्तावले पाउन्डको मूल्यमा गिरावट आएको र बेलायत सरकारको उधारोको लागत वृद्धि भएको थियो ।

हन्टको कदमपछि बजारले सकारात्मक प्रतिक्रिया देखाएको छ । उहाँले प्रधानमन्त्रीले जारी गरेको नीतिहरू खारेज गरेसँगै पाउन्डको मूल्यमा वृद्धि भएको छ र सरकारको उधारोको लागतमा कमी आएको छ । यो घोषणाको प्रभाव युरोपेली अर्थतन्त्रमा पनि देखिएको छ ।

युरोपेली शेयर, बोन्ड र प्रमुख मुद्राहरू पनि बलियो स्थितिमा देखिएका छन् । केही सत्तारुढ सांसदहरूले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेपछि ट्रसले प्रधानमन्त्रीको रूपमा आफ्नो पद सुरक्षित राख्ने प्रयास स्वरूप मन्त्रिपरिषद्का सदस्यहरूसँग भेट गर्दै आएको बीबीसीले जनाएको छ।

Share your love