बुढीगण्डकी जलविद्युतको काम तत्काल सुरु गर्न सांसद पाण्डेको माग

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद पाण्डेले अलपत्र अवस्थामा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्यलाई तत्काल सुरु गर्न सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ ।

मुलुकको सबैभन्दा ठूलो सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नचाहेको देखिएको उल्लेख गर्दै उहाँले त्यसको कारणबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने पनि बताउनुभयो ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले समय सीमा निर्धारण गरेर सो जलविद्युत आयोजनाको कामलाई अघि बढाउन सरकारले ढिलाई गर्न नहुने पनि पटक-पटक दोहोर्‍याउनुभयो ।

उपाध्यक्ष पाण्डेले सो आयोजना निर्माणको काम छिटो सम्पन्न गर्न सके मुलुकमा ठूलो आर्थिक योगदान पुग्ने र रोजगारीको अवसर सृजना हुनेतर्फ सरकारलाई सचेत गराउनुभयो ।

Share your love