बिजुली प्रसारण संरचनामा बढोत्तरी

बिजुली प्रसारण गर्न चाहिने संरचना प्रसारण लाइनमा चालु आर्थिक वर्षको आठ महिनामा १ हजार ८ सय ७१ दशमलव १६ किमि बढोत्तरी भएको छ । गत असार अन्त्यसम्म २ हजार ७ सय ५ दशमलव ४४ किमि रहेको प्रसारण लाइन गत फागुनसम्म ४ हजार ५ सय ७६ दशमलव ६ किमि पुगेको छ । यो चार्ज भई सञ्चालनमा रहेको प्रसारण लाइन हो ।

केही महिनामा थप ६ सय ७५ किमि चार्ज भई सञ्चालन हुने अन्तिम तयारीमा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हालसम्म १३२ केभीको ३ हजार ४ सय ५९ दशमलव ५४ किमि, २२० केभीको ६ सय २ दशमलव ६० र ६६ केभीको ५ सय १४ दशमलव ४६ गरी कुल ४ हजार ५ सय ७६ दशमलव ६ किमि प्रसारण लाइन चार्जपछि सञ्चालनमा रहेको प्रसारण लाइन आयोजना प्रमुख दीर्घायुकुमार श्रेष्ठले बताउनुभयो ।

देशभर विद्युतीकरण तथा विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणअन्तर्गत प्रसारण लाइन निर्देशनालय र आयोजना व्यवस्थापन निर्देशनालयले गरी ४ हजार ७ सय ३१ किमि प्रसारण लाइन निर्माण गर्ने गरी अध्ययन हुँदै गरेको प्राधिकरणले जनाएको छ ।

यसमा प्रसारण लाइन आयोजनाबाट २ हजार ४ सय ९१ तथा आयोजना व्यवस्थापन निर्देशनालयबाट २ हजार २ सय ४० किमि प्रसारण लाइन निर्माणको प्रस्ताव अघि बढेको प्रसारण लाइन आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

Share your love