बाढी-पहिरोबाट मृत्यु भएकालाई जनही २५ हजार राहत

कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई काजकिरिया खर्चबापत जनही २५ हजार रुपैयाँ दिने भएको छ ।

असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट मृत्यु भएकाहरूका परिवारलाई तत्कालका लागि किरिया खर्चबापतको रकम उपलब्ध गराइने मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोबाट ज्यान गुमाउने प्रदेशभरका सबै मृतकका परिवारलाई किरिया खर्च बापत रकम दिइने छ ।

कर्णाली प्रदेश प्रहरीका अनुसार पहिरोमा परी कर्णालीमा ३७ जनाको मृत्यु भएको छ । अझै १९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रदेश सरकारकै सहयोगमा पहिरोबाट घाइते भएकाहरूको उद्धार गर्ने काम भइरहेको मुख्यमन्त्री शाहीले बताउनुभयो । उहाँले पहिरोबाट सडकमा पुगेको क्षतिको सरकारले मर्मतका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Share your love