बरघरले गरेका निर्णय कार्यान्वयन गर्न थारु समुदायकाे माग

बर्दिया – पालिका तहले गाँउमा कामकाजका बरघर (मुखिया) प्रणालीलाई मान्यता दिए पनि अन्य सरकारी निकायले उपेक्षा गर्दा गाँउका साना मुद्दाहरुको समाधान हुन नसकेको बरघर समुदायले गुनासो गरेका छन् ।

पश्चिम तराईका जिल्लाहरुमा थारुहरुले बरघर प्रथालाई संस्कृति, परम्परा र पहिचानकाे रुपमा लिन्छन् । गाउँका साना समस्याहरु पनि ठूला बन्ने र समयमा समस्याको समाधान हुन नसक्दा यतिबेला वर्षौंदेखि चल्दै आएको बरघर समुदायहरु चिन्तित भएका हुन् । उनीहरुले पालिका तहले गाँउमा कामकाजका बरघर (मुखिया) प्रणालीलाई मान्यता दिए पनि अन्य सरकारी नकायहरुले त्यसको पालना नगर्दा बरघर ऐन बनाएको अर्थ नभएको अनुभूति भएको बरघर समूदायका अगुवा बताउँछन् ।

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले बरघर ऐन बनाएर कार्यन्वयनमा ल्याएर काम काज शुरू गरेको छ । पालिका तहले बरघर प्रथालाई मन्यता दिए पनि केन्द्र सरकारले मन्यता दिएको छैन ।

सरकारी निकायहरुले नै पालिका तहले बनाएको नियमको पालना नगर्दा कतिपय साना समस्यासमेत ठूला बन्ने गरेको बारबर्दिया नगरपालिका, बर्दियाका बरघर सञ्जालका सचिव लक्ष्मीप्रसाद थारू बताउनुहुन्छ । उहाँले प्रतिनिधि र प्रदेश सभाका प्रतिनिधिहरूले बरघर ऐनलाई केन्द्रदेखि संविधानमा लागू गराउन सके कामकाजमा सहज हुने बताउनुभयो ।

बरघर प्रथालाई गाँउका मानिसहरूले सबैभन्दा सजिलो उपायको रूपमा लिने गरेपनि केन्द्रदेखि कार्यन्वयन नभएको कारणले बरघरहरूले कतिपय निर्णय लिन अलमलमा परेकोसमेत सचिव थारूले बताउनुभयो । बरघर सञ्जाल विस्तार गर्नका लागि कैलालीदेखि दाङसम्म संगठन बनाएर केन्द्रबाट नै नियम लागू गराउन प्रतिनिधि र प्रदेश सभामा विजयी उम्मेदवारहरुलाई दबाब दिने बतउनुभयो ।

त्यस्तै बढैया ताल गाँउपालिका, बर्दियाका बरघर सञ्जालका संयोजक परशुराम थारुले बरघर प्रथालाई संरक्षण र संबर्द्धन गर्न केन्द्रबाट निर्णयको कार्यान्वयन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले सरकारले संविधानमै लागू गरे बरघरहरूलाई कुनैपनि निर्णय गर्दा सहज हुने संयोजक थारूले बताउनु भयो ।

त्यसैगरी बरघर सञ्जाल, बाँसगढी नगरपालिका बर्दियाका संयोजक हरिप्रसाद थारुले गाउँ, समुदायका कामहरूलाई छिटो र सहज तरिकाले सम्पादन गर्नका लािग बरघर प्रथालाई केन्द्रबाट नै कार्यन्वयनमा ल्याउन जरूरी रहेको बताउनु भयो ।

थारू सामुदायमा बरघर प्रथा पुस्तौँदेखि चल्दै आएको छ । थारू समुदायका मानिसहरूले गाँउमा कुनै किसिमको विवाद वा झगडा भए पहिला बरघरको राय लिने र आवश्यक परेपछि मात्र प्रशासनको सहयता लिने गर्दछन् । तर कतिपय मुद्दालाई बरघरले गरेको निर्णयलाई प्रशासनले मान्यता नदिँदा बरघर समुदाय चिन्तित छ ।

जसकारण स-सानो कुरामासमेत साधारण मानिसहरूले दुःख पाउने गरेको उनीहरुको गुनासो छ ।

 

Share your love