‘बदलिएको राजनीतिक व्यवस्था अनुरुप जनताको अवस्था बदल्न सरकार दृढ छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले बदलिएको राजनीतिक व्यवस्था अनुरुप जनताको अवस्था बदल्न सरकार दृढ संकल्पित रहेको बताउनुभएको छ । लायन्स क्लव अफ इन्टरनेशनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय,सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न केन्द्रित रहेको दोहो¥याउँदै त्यसका लागि आफूले राष्ट्रिय सहमति र सहकार्यमा जोड दिएको समेत स्पष्ट पार्नुभयो ।

उहाँले मुलुकमा विद्यमान समस्याहरुको समाधानका लागि सरकारलाई साथ दिन निजी क्षेत्र,सामाजिक संंघसंस्था र नागरिक अगुवाहरुलाई आग्रह समेत गर्नुभयो । मुलुकमा विद्यमान निराशालाई चिर्ने काममा सरकार लागि परेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रधानमन्त्री दाहालले दूरदराजमा रहेका विपन्न सबै समुदायसम्म पुगेर त्यहाँका युवाहरुको नेतृत्व विकास गर्नेगरी नीति,कार्यक्रम र कार्ययोजना बनाउन पनि लायन्स क्लवहरुको ध्यानाकर्षण गराउनु भयो । लायन्स क्लवहरुले सहरमा मात्रै केन्द्रित नभई पछि परेका/पारिएका युवाहरुलाई पनि अघि बढाउने गरी कार्यहरु गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहालले मुलुकको पछिल्लो विकसित परिस्थिति र समावेशी लोकतन्त्रको मान्यता अनुसार सामाजिक संघ, संस्थाहरुले पनि आफ्नो कार्यक्षेत्रको दायरा फराकिलो बनाउन जरुरी रहेको समेत बताउनुभयो ।

Share your love