प्रधानमन्त्री कप: पुलिसको लगातार दोस्रो जित

काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा नेपाल पुलिसले लगातार दोस्रो जित हासिल गरेको छ।

समूह ‘बी’को पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई १ सय ९२ रनले पराजित गरेको थियो। पुलिसले लगातार दोस्रो खेलमा प्रदेश १ माथि ७ विकेटको जित हासिल गर्‍याे।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले दिएको १ सय ३ रनको लक्ष्य पुलिसले २ सय ६१ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गरेको थियो।

राम्रो सुरुवात गरे पनि प्रदेश एकले त्यसपछि लगातार विकेट गुमाउन पुगेको थियो। ५६ रनमा पहिलो विकेट गुमाएको प्रदेश एकले बाँकी ४६ रन जोड्दा सम्पूर्ण विकेट गुमाएको थियो।

उसका लागि ओपनर निरज मुखियाले २९ रन बनाउँदा अंकित सुवेदीले २४ रन बनाए। थप दोहोरो स्कोरका रूपमा विवेक आन्नद मेहताको १७ रन रह्यो।

प्रदेश एक ३५.१ ओभरमा १ सय २ रन जोड्दा अलआउट भएको थियो। प्रदेश एकलाई सस्तैमा समेट्ने क्रममा पुलिसलका ललित राजवंशीले ५ विकेट लिएका थिए।

त्यस्तै, सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिए।

१ सय ३ रनको लक्ष्य लिएर मैदान उत्रिएको पुलिसल सहज रुपमा जित हासिल गर्‍याे। उसका ओपनर सुनिल धमला गोल्डेन डकआउट भएपनि कुशल भुर्तेलले ४२ रनको योगदान दिए।

त्यस्तै, शंकर रानाले २९ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी १४ रनमा नटआउट रहे। उनलाई रसिद खानले १६ रनमा साथ दिए। प्रदेश एकका लागि फिर्दोश अनसारी र सिद्दान्त लोहनीले समान १-१ विकेट लिएका थिए।

Share your love