प्रत्यक्षतर्फ एक तिहाइ महिला उम्मेदवार बनाउन दलहरूलाई निर्वाचन आयोगको निर्देशन

काठमाण्डौ – निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्दा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । संसदीय समितिको निर्देशनअनुसार आयोगले राजनीतिक दललाई प्रत्यक्षतर्फ एक तिहाइ महिला उम्मेदवार बनाउन पत्राचार गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निर्वाचन आयोगलाई यसअघि प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला उम्मेदवार बनाउने गरी दलहरूलाई निर्देशन दिन आयोगलाई पत्राचार गरेको थियो । संविधानले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलले कम्तीमा एक तिहाइ महिला सदस्यको सङ्ख्या सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । तर त्यो सङ्ख्या प्रत्यक्षतर्फबाट गर्नुपर्ने भन्ने अनिवार्य छैन ।

महिला सांसद र नेताहरूले निरन्तर माग र दबाब गरेपछि त्यसबारे राष्ट्रिय सभा र राष्ट्रिय सरोकार तथा समन्वय समितिले प्रत्यक्षतर्फसमेत एक तिहाइ महिलाको उम्मेदवारी सुनिश्चित गर्न आग्रह गरेको थियो । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्र छन् भने प्रदेश सभामा तीन सय ३० क्षेत्र छन् ।

Share your love