पार्टीमा विचलन आएको प्रचण्डको टिप्पणी

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय पार्टीमा विचलन देखापरेको टिप्पणी गर्नुभएको छ ।बिहीबार रामवृक्ष यादवको २८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको दाबी गर्नुभएको हो । प्रचण्डले पार्टी पहिलाको जस्तो नरहेको भन्दै पार्टी केही बिग्रिएको बताउनुभयो । उहाँले व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको बताउनुभयो ।

प्रचण्डले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्रतिस्पर्धा गर्ने तिर नभइ आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर बढी केन्द्रीत हुने गरेको बताउनुभयो । उहाँले सामुहिक भावनाद्वारा अघि बढ्ने भन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको गुनासो गर्नुभयो । उहाँले पार्टीका नेताहरूको मुखमा क्रान्तिकारी रहेपनि व्यवहार, आचरण, दैनिकीमा नरहेको दाबी गर्नुभयो ।

प्रचण्डले यस्ता व्यक्तिवादी चरित्रका कारण पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको बताउनुभयो । उहाँले पार्टीमा भनाइ र गराइमा धेरै ठूलो अन्तर देखा परिसकेको भन्दै अन्तरबिरोधलाई हल गर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रचण्डले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी गर्नुभयो । उहाँले सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता भएको पनि बताउनुभयो ।

Share your love