पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफको दुबईमा निधन

पाकिस्तानका पूर्व सैनिक जनरल तथा पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन भएको सेनाले आइतवार जानकारी गराएको छ ।

उहाँ ७९ वर्षको हुनुहुन्थ्यो । पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफको आइतवार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेकाे अमेरिकी अस्पतालमा निधन भएको हो । सेनाका वरिष्ठ प्रमुखहरूले जनरल मुशर्रफको निधनप्रति हार्दिक समवेदना व्यक्त गरेको सेनाको सञ्चार शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उहाँको परिवारका सदस्यलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले पूर्व सैनिक जनरल तथा पाकिस्तानी पूर्वराष्ट्रपतिको ‘एमाइलोइडोसिस’ का कारण निधन भएको उल्लेख गरेका छन् । मुशर्रफलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पाकिस्तानी सञ्चारमाध्यमबाट प्रसारित समाचारमा जनाइएको छ ।

मुशर्रफ सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आउनुभएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिना पहिले मुशर्रफले आफ्नो बाँकी जीवन आफ्नै देशमा बिताउने इच्छा व्यक्त गर्दै आफ्नो निजी वकिलमार्फत पाकिस्तानी सरकारलाई निवेदन दिनुभएको थियो । ‘द एक्सप्रेस ट्रिब्युन’ पत्रिकाका अनुसार पूर्वराष्ट्रपति जतिसक्दो चाँडो पाकिस्तान फर्कन चाहनुहुन्थ्यो ।

मुशर्रफ सन् १९९९ मा भएको सफल सैन्य ‘कू’ पछि पाकिस्तानका दशौँ राष्ट्रपति हुनुभएको थियो । उहाँले सन् १९९८ देखि २००१ सम्म पाकिस्तानको ज्वाइन्ट चिफ अफ स्टाफ कमिटी (सीजेसीएससी) को १० औँ अध्यक्ष र सन् १९९८ देखि २००७ सम्म सातौँ शीर्ष जनरलको रूपमा काम गर्नुभएको थियो ।

 

Share your love