जिल्ला प्रहरी कार्यालय, पर्साले मोटरसाइकल चोर गिरोहका छजनालाई पाँच थान मोटरसाइकलसहित पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले असोज २८ गते वीरगंजका विभिन्न स्थानबाट चोरीका मोटरसाइकलसहित छजनालाई पक्राउ गरिएको बताए । उनले पक्राउ पर्नेहरू छजना नै नवयुवक भएको बताए । प्रहरी प्रवक्ता गिरीले वीरगंज महानगर–१३ राधेमाई बस्ने २१ वर्षीय सुमित कुशवाहा, वीरगंज महानगर–१२ बस्ने १९ वर्षीय राजन मण्डल र वीरगंज महानगर–१२ बस्ने १९ वर्षीय अभय मण्डललाई प्र२–०३–००३–७५०९ र ना.३७प २०२४ नम्बरका चोरीका मोटरसाइकलसहित वीरगंज महानगर–२५ सुक्खा बन्दरगाह क्षेत्रबाट पक्राउ गरिएको बताए ।

यसैगरी, वीरगंज महानगर–११ रानीघाट बस्ने २० वर्षीय नन्दनकुमार चौरसियालाई पनि सुक्खा बन्दरगाहबाट ना.१८प ४२११ नम्बरको चोरीको मोटरसाइकल, वीरगंज महानगर–१० घडीअर्वा निवासी २० वर्षीय रिकी मण्डललाई वीरगंज–१५ नेशनल मेडिकल कलेजनजीकबाट ना.४२प ९८२९ नम्बरको चोरीको मोटरसाइकलसहित र पोखरिया नगरपालिका–६ श्रीसिया निवासी २५ वर्षीय खरबुद आलमलाई सखुवाप्रसौनी गापा–२ गुलरियाबाट ना.१०प ५०५१ नम्बरको चोरीको मोटरसाइकसहित पक्राउ गरिएको बताए ।

अभियुक्त छजनामाथि मोटरसाइकल चोरीको कसूरमा मुद्दा अगाडि बढाइएको प्रवक्ता गिरीले बताए ।