पर्सा, बारा, रौतहटका २४ स्थानीय तहले बजेट प्रस्तुत गरेनन्

बारा, पर्सा, रौतहटका अधिकांश स्थानीय तहमा चालू आव २०७९/८० को लागि बजेट पास भएपनि जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा खाता सञ्चालनमा आएको छैन ।

खाता सञ्चालनमा नआउँदा ज्येष्ठ नागरिक भत्ता र गत वर्षको दिनुपर्ने भुक्तानी पनि रोकिएको छ । जनप्रतिनिधिहरूले एकमुस्ट बजेट पास गरे पनि शीर्षक अनुसार रकम बाँडफाँड नहुँदा खाता सञ्चालनमा नआएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूत्रमा प्रविष्ट गरेपछि चालू आवको कारोबार शुरू भएर भुक्तानी प्रक्रिया शुरू हुन्छ ।

पर्सामा १४ वटा स्थानीय पालिकामध्ये धोबिनी र कालिकामाई गाउँपालिकामा विवादका कारण अहिलेसम्म गाउँसभासमेत भएको छैन । त्यहाँ जनप्रतिनिधिहरूले भागबन्डा बराबर हुनुपर्छ भन्ने माग राखेपछि सहमति नभएको हो । अर्कोतिर सङ्घीय मामिला तथा सामाान्य प्रशासन मन्त्रालयले बारा, पर्सा, रौतहटका २४ वटा स्थानीय तहलाई पत्राचार गरी चाँडै सूत्रमा शीर्षक अनुसार बजेट राख्न निर्देशन दिएको छ । पर्सा जिल्लाका १४ वटा पालिकामध्ये जगरनाथपुर, पोखरिया, बहुदरमाई, विन्ध्यवासिनी, सखुवाप्रसौनी, ठोरी, कालिकामाई, जीराभवानीले अहिलेसम्म वेबसाइटमा बजेट प्रविष्ट गरेको देखिंदैन ।

त्यसैगरी, बाराका १६ वटा पालिकामध्ये सातवटा पालिका जीतपुरसिमरा, महागढीमाई, सिम्रौनगढ, आदर्शकोतवाल, पचरौता, परवानीपुर, प्रसौनी गाउँपालिकाले पनि अहिलेसम्म बजेट प्रविष्ट गरेको देखिंदैन ।

त्यसैगरी, रौतहटका १८ वटा पालिकामध्ये नौवटा पालिका ईशनाथ, कटहरिया, दुर्गाभगवती, देवाहीगोनाही, फतुवाविजयपुर, बौधीमाई, माधवनारायण, मौलापुर, यमुनामाईले पनि सूत्रमा बजेट प्रविष्ट नगरेको मन्त्रालयले जनाएको छ ।

नियमतः असार महीनाभित्र गाउँसभा गरी बजेट पास गर्नुपर्ने र साउनको पहिलो हप्ताभित्र सूत्रमा बजेट प्रविष्ट गर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेख छ । तर ती स्थानीय पालिकाहरूले गाउँ/नगर सभा गरी एकमुस्ट बजेट पारित गरेको र शीर्षक अनुसार बजेटमा जनप्रतिनिधिहरूबीच बाँडफाँड नमिल्दा विवाद भइरहेको जनाइएको छ । आजको प्रतिक दैनिक बाट 

Share your love