पर्सामा ८ वटा चोरीको मोटरसाईकल सहित ४ जना पक्राउ

पर्सामा ८ वटा चोरीको मोटरसाईकल र चोरी गर्नमा प्रयोग गरेको मास्टर साचोसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर २४ का २० बर्षीय आकाश तिवारी , वडा नम्बर २६ का २० बर्षीय रामप्रवेश पटेल , २६ बर्षीय अशोक पटेल र भारत बिहार पूर्वी चम्पारण रतनपुरका १९ वर्षीय शिवम पाण्डे रहेका छन ।

वीरगंज महानगरपालिका वडा नम्बर ८ मा पार्किंग गरी राखिएको पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगादीका रामबाबु कुमार गुप्ताको प्र २–०३–००७ प १७६६ नम्बरको मोटरसाइकलमा मास्टर साँचोको प्रयोग गरी रामप्रवेश पटेलले चोरी गरी लैजादै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक बिशाल मल्लको कमाण्डमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका रामप्रवेश पटेललाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्दा बिभिन्न मितिमा समेत चोरी भएका थप मोटरसाईकल सहित उनीहरुलाई समेत प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट बिभिन्न मितिमा चोरी भएको ना ५२ प ५०२४, ना २७ प ७८४७, ना ११ प ११२१, ना ५३ प ७१०६, ना ३७ प ९८१८, ना ४६ प ८६२७ र प्र०३–००८ प ७१८६ नम्बरको मोटरसाइकलहरू नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनालाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जानेको छ ।

यसैगरी वीरगंजको बिभिन्न स्थानमा वेवारिसे अवस्थामा रहेको ५ वटा मोटरसाईकल आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाईएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी गराउनुभएको हो ।

Share your love