जन्ती जाने विषयमा भएको विवादमा ३५ बर्षीय सल्मुल्लाहा राउत गद्दीलाई दुलाहा साविर र उनका काका जादुलले कुटपिट गरेका थिए ।

घटना विवरण अनुसार कुटपिटपछि स्थानीयले छुटाएर समुल्लाहालाई घर पठाएको थियो । सामान्य अवस्थामा घर गएर सुतेका उको आज बिहान ३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । घटनापछि पुगेको प्रहरीले समुल्लाहाको शव नारायणी अस्पतालमा ल्याएको छ ।

यद्यपि शवको पोष्टमार्टमपछि यकिन जानकारी हुने प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो । मृतक युवकको शरीरमा बाहिरी चोट नदेखिएपनि शरीर भित्र गहिरो चोटका कारण सल्मुल्लाहाको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

युवकको मृत्युपछि दुलाहा र उनका काका दुवैजना फरार भएका छन् । उनीहरुको खोजी कार्य जारीरहेको इलाका प्रहरी कार्यालय सेंढवाका प्रहरी सहायक निरीक्षक अजय ठाकुरले जानकारी दिनुभयो ।