पर्साका ‘हेभिवेट’ नेतालाई नयाँको चुनौती

पर्साका आधा दर्जन ‘हेभिवेट’ नेताहरुलाई यो पटक चुनाव जित्न सकस हुने देखिएको छ । विगतमा पर्साका विभिन्न चुनाव क्षेत्रबाट जितेर मन्त्रीसम्म भएका नेताहरुलाई यो पटक भने जित अनिश्चित बनेको हो ।

पर्साबाट जितेर मन्त्रीसम्म बनेका तीन जना, सहायक मन्त्री बनेका एक, राज्यमन्त्री एक र मधेस प्रदेशको पहिलो मुख्यमन्त्री गरी जम्मा छ जना पूर्व र बहालवाला मन्त्रीहरु यो पटक पनि उम्मेदवार चुनिएका छन् । तर उनीहरुले चुनाव जितेर गएपछि आफ्ना वाचा तथा प्रतिबद्धतामा खरो नउत्रेका कारण उनीहरुलाई अहिले चुनावी चुनौती थपिएको छ । त्यसैमाथि आफ्नै पार्टीबाट बागी उठेका उम्मेदवार र नागरिकको आकांक्षाले ‘हेभिवेट’ नेताहरुको आगामी जित सुनिश्चित नभएको पर्साका बुद्धिजिवीहरुको ठहर छ ।

पूर्व मन्त्रीहरुलाई गैरमन्त्रीको चुनौती

संघ सरकारका पूर्व बिनाविभागीय मन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता लक्ष्मणलाल कर्ण अहिले सत्ता गठबन्धन दलको तर्फबाट पर्सा क्षेत्र नम्बर एकबाट उम्मेदवार हुनुहुन्छ । उहाँसँगै लड्न एमाले–जसपा तालमेलका संयुक्त उम्मेदवार तत्कालीन वनमन्त्री प्रदीप यादव पनि पर्सा एकबाटै चुनावी मैदानमा हुनुहुन्छ । तर उहाँहरु दुवैलाई स्वतन्त्रबाट उठेका अजय द्विवेदी भारी परिरहेको यहाँका मतदाता बताउँछन् ।

मधेस आन्दोलनमा पर्सामा आन्दोलनकारीको मोर्चा हाँकेका युवा नेता पूर्वमन्त्रीद्वय कर्ण र यादवलाई टक्कर दिँदै हिँडेका स्थानीय नेता द्विवेदी पनि उमेद्वारी दर्ता हुनु पूर्व कुनै दलमा नलागेका खाँटी स्वतन्त्र चाहिँ होइनन् । नेपाली कांग्रेसको पकड क्षेत्र मानिने पर्सा १ मा नेपाली कांग्रेसका पूर्व सभापति र संविधान सभाका सदस्य समेत रहनुभएका अजय द्विवेदी सत्ता गठबन्धनको कारण असन्तुष्ट बनी बागी उठेपछि यो क्षेत्रको चुनावी प्रतिस्पर्धा ‘हेभिवेट’ पूर्वमन्त्रीहरुका लागि असहज भएको पर्सा १ का स्थानीय सन्तोष साहले बताउनुभयो ।

त्यसै गरी पर्साको क्षेत्र नम्बर २ मा एमाले–जसपाका संयुक्त उम्मेदवार सुरेन्द्र कुर्मी अगाडि सारिएपछि सत्ता गठबन्धन दलकै अर्का नेता पूर्व सहायक मन्त्री अजयकुमार चौरासियालाई प्रतिस्पर्धा भारी परेको छ । नेता कुर्मी राजनीतिमा अहिलेसम्म ईमान नगुमाएका निष्ठावान र जुझारु नेताका रुपमा पर्सामा परिचित हुनुहुन्छ । उहाँ प्रतिस्पर्धी भएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य नै रहनुभएका चौरासियाको जितमा शंका बढेको पर्साका स्थानीय युवा उमेश साहको भनाइ छ । उहाँका अनुसार राजनीति बुझ्ने पर्साका अधिकांश व्यक्तिको मत मिलिराखेको छ । पर्सा क्षेत्र नम्बर २ मा क्षेत्र नम्बर १ मा जस्तो स्वतन्त्र उम्मेदवारको टक्कर भने खासै नभएको उनीहरुको भनाइ छ ।

यता पर्साको क्षेत्र नम्बर ३ मा पनि ‘हेभिवेट’ नेता तथा पूर्वमन्त्री सुरेन्द्र चौधरीलाई सत्ता इतर गठबन्धनका राजकुमार गुप्ताको टक्कर थामिनसक्नु जस्तो छ । अरु समयमा पनि यो क्षेत्रमा ‘तँ वीर कि म वीर’ भनी शक्ति जुधाउने एमाले नेता गुप्ता र पूर्वमन्त्री सुरेन्द्र चौधरी दुवै एउटै चुनावी क्षेत्रमा खडा भएपछि जित कसको पोल्टामा पर्छ भन्न सकिने अवस्था देखिँदैन । जसपा एमालेका संयुक्त उम्मेद्वार नेता गुप्ता पनि पूर्व संविधानसभा सदस्य हुनुहुन्छ ।

यस्तै, पर्साको क्षेत्र नम्बर ४ का सत्ता गठबन्धनका कांग्रेस नेता रमेश रिजाल र एमाले गठबन्धनका जालिम मियाँबीच पनि कडा टक्कर रहेको त्यहाँकी स्थानीय उर्मिला सापकोटाको भनाइ छ ।

यस्तै, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई पनि मधेस आन्दोलनका चर्चित नेता शशिकपुर मियाँ र ओम प्रकाश सर्राफ स्वतन्त्रबाट उभिएपछि चुनाव जित्न सहज छैन । त्यसमा पनि मधेस प्रदेशको राजधानी वीरगञ्जमा ल्याउन ठोस पहल नगरेको आरोप लागेका मुख्यमन्त्री राउतले यो पटक चुनाव जित्छन् नै भन्ने पक्का नभएको स्थानीय युवा हरेराम यादव बताउनुहुन्छ ।

मधेस प्रदेशको बहालवाला मुख्यमन्त्री मात्र नभई पर्साबाट गएका सबै पूर्वमन्त्री तथा जिल्लाका ‘हेविवेट’ नेताहरुको यो पटकको अवस्था भने विगतमा जस्तो सहज नभएको नेपाली कांग्रेसका स्थानीय नेता प्रकाश उपाध्यायको पनि तर्क छ । यति मात्र नभई सत्ता गठबन्धन दलको साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका रामनारायण कुर्मी मुख्यमन्त्री गद्दीकै क्षेत्रमा उम्मेदवार भएकोले झन् जित कसको भागमा पर्छ भन्न नसकिने बताउनुहुन्छ, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का ।

‘हेभीवेट’मध्येकी बागी उम्मेदवार करिमालाई स्वतन्त्रको टक्कर

वि.स. २०६४ सालमा पर्सा १ बाट निर्वाचित भई कृषिराज्य मन्त्रीसमेत बनिसक्नुभएकी करिमा वेगम यो पटक पर्सा दुईको ‘ख’बाट उमेद्वार बन्नुभएको छ । उहाँको पार्टी जसपा एमालेसँग तालमेलमा मुछिएपछि टिकट नपाएर पार्टीको आधिकारिक उम्मेदवारलाई चुनौती दिन भन्दै उहाँ बागी उठ्नुभएको हो । तर करिमा जस्तै स्वतन्त्रमा त्यही पदमा स्थानीय नेता मुकेश द्विवेदी, वीरगञ्ज महानगरका मेयर राजेशमानका भतिजा रुपेशमान सिंह पनि उम्मेदवार बनेपछि पूर्वमन्त्री वेगमको जित पनि अनिश्चित बनेको छ ।

Share your love