पर्यटन मन्त्रीलाई दुर्व्यवहार गरेको भन्दै छाया सेन्टरका सुरक्षा गार्ड पक्राउ

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोपमा ठमेलको छाया सेन्टरका सुरक्षा गार्ड शेरजंग गुरुङ पक्राउ परेका छन् ।

छाया सेन्टरमा रहेको भिसा सेन्टरमा एक कामले पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षा गार्डले भित्र छिर्न नदिएको र मन्त्रीका सुरक्षा गार्ड तथा सहयोगीले ‘उहाँ मन्त्री हो’ भनेर चिनाउँदासमेत दुर्व्यवहार गरेकाले पक्राउ गरिएको प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब उपरीक्षक कोपिला चुडालले उज्यालोलाई जानकारी दिनुभयो ।

‘सहयोगीले उहाँ मन्त्री हो, प्रक्रिया पुर्‍याएर आएका छौँ, भित्र जान दिनुहोस् भन्दा पनि सुरक्षा गार्डले मुख छाड्ने तथा अभद्र व्यवहार गरेका रहेछन्’, डीएसपी चुडालले भन्नुभयो । मन्त्रीलाई दुर्व्यवहार भएपछि उहाँको तर्फबाट प्रहरीमा उजुरी परेको र पक्राउ गरेर वृत्तमा ल्याइएको उहाँले बताउनुभयो । पक्राउ परेका गुरुङलाई अभद्र व्यवहारको मुद्दामा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर अनुसन्धान गरिने चुडालले जानकारी दिनुभयो ।

‘मन्त्री के कति कामले छाया सेन्टर जानुभएको भन्ने खुलेको छैन, त्यहाँ विभिन्न देशमा जानका लागि भिसा सेन्टरसमेत रहेकाले भिसाको कामले गएको हुन सक्छ’, डीएसपी कोपिला चुडालले भन्नुभयो ।

Share your love