पर्यटनले मुहार फेरेको भकुण्डे गाउँ

विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पहुना लिएर भकुण्डे गाउँ पुगिसक्नुभयो । उहाँले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बाग्लुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत सुनिश्चित गरिसक्नुभएको छ ।

पर्यटकलाई भकुण्डे हुँदै बौडैचौरबाट बौरसम्मको तीन दिन पैदलयात्रा लैजानका लागि समेत अध्ययन भइसकेको उहाँले बताउनुभयो । ‘भकुण्डेमा चिसो हावापानी, बजारबाट नजिक, बराह ताल, दृश्यावलोकन स्तम्भ, आतिथ्यता र अर्ग्यानिक खानाका कारण विदेशी पर्यटक यहाँ आउन रूचाएपछि मैले दुई चरणसम्म पर्यटक ल्याएँ, कोरोनापछि केही पर्यटक आउन ठिक्क परे पनि ल्याउन सकिएन’, ज्याकले भन्नुभयो, ‘अब भकुण्डेमा एक दिन बिताएपछि सिगानाको बौडैचोर हुँदै काठेखोला गाउँपालिका ७ रेशको बौरसम्म पैदल मार्गमा विदेशी पर्यटक ल्याउने योजनामा छु ।’ अहिले त्यस मार्गको अध्ययन सकिएको ज्याकको भनाइ छ ।

यसो त बाग्लुङ सदरमुकाम घुम्नका लागि आउनेहरू आन्तरिक पर्यटकको पहिलो प्रश्न हुन्छ– बाग्लुङ बजारबाटै छोटो दुरीमै घुम्ने, खाने र बस्ने राम्रो स्थान कहाँ छ ? बाग्लुङका धेरैजसो होटल व्यवसायीलाई आउने प्रश्नको जवाफ हुन्छ– पर्यटकीय गाउँ भकुण्डे । दश वर्षअघिसम्म गुमनाम रहेको यो गाउँ अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । प्राकृतिक, संस्कृति र घरवासका कारण अहिले बाग्लुङ आउने पर्यटकको पहिलो रोजाइ बन्दै आएको छ बाग्लुङ नगरपालिका १० मा रहेको भकुण्डे गाउँ ।

बाग्लुङ बजार आएका स्वदेशी तथा विदेशी पाहुनाहरू अहिले पदमार्ग र सडक मार्ग भएर दुई घण्टामै मनोरम दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ जाने गर्दछन् । प्रकृतिको वरदानको रूपमै रहेको भकुण्डे गाउँमा जिल्लाकै पहिलो घरवास सञ्चालन गरिएपछि पर्यटकीय रौनकता थपिएको स्थानीयवासी खिमबहादुर थापा बताउनुहुन्छ । अतिथि सत्कार सामुदायिक घरवासको अध्यक्षसमेत रहनुभएका थापाका अनुसार भकुण्डे गाउँमा पछिल्लो समय पर्यटकीय पदमार्ग, सङ्ग्रहालय, ताल संरक्षण र उद्यान निर्माणलगायतका थुप्रै पर्यटकीय पूर्वाधारहरू समेत निर्माण भइसकेको छ ।

Share your love