पढाइमा अब्बल वीरगंजका एक किशोर साथीबाटै अपहरित, ४ जना पक्राउ

पुस २३ गते शनिबार बिहान पनि उनी सबेरै उठे । हातमुख धुन आँगनमै रहेको कलधारामा निस्किए । तर त्यसपछि उनी घर फर्किएनन् । उनी लामो समयसम्म धाराबाट नफर्किएपछि अभिभावकले खोज्न थाले । बिहान लागेको बाक्लो हुस्सुका कारण टाढाको दृश्य नदेखिने अवस्था थियो । परिवार र छरछिमेकले खोज्दा नभेटेपछि प्रहरीलाई खबर गरे ।

साढे ६ बजेतिर उनी हराएको खबर प्रहरी समक्ष पुग्यो । प्रहरी र स्थानीय बासिन्दाले संयुक्त रुपमा खोजी जारी राखे । बिहान ७ बजेतिर घरपछाडि चौरमा ती बालक हात खुट्टा बाँधेको र मुखमा कपडा कोचिएको अवस्थामा फेला परे ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा एउटै कक्षामा पढ्ने ४ जना मिलेर उनको अपहरण गरेको पत्ता लगाएको छ । घटनामा संलग्न चारै जनालाई पक्राउ समेत गरेको छ । पीडित बालक र बन्धक बनाउने चारै जना वीरगञ्जकै एउटा विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्।

कलमा हात मुख धोइरहेको अवस्थामा उनीसँगै चार जना मिलेर कम्बलले छोपेर अपहरण गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

बालकको उद्धारमा संलग्न वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लका अनुसार पढाइमा अब्बल भएकै कारण निकटतम प्रतिस्पर्धी विद्यार्थीले रिस, द्वेष र डाहले घटना घटाएका थिए ।

यसअघि मंसिर २८ गते पनि अपहरित किशोरलाई उनका साथीहरुले कुटपिट गरेको प्रहरीले जनाएको छ । अपरहणमा संलग्न किशोरहरुमध्ये केहीलाई अपहरित केटाले बेला बेलामा पढाएर सहयोग समेत गर्ने गरेको पाइएको उनको भनाइ छ ।

प्रहरीले घटनामा प्रयोग गरिएको रूमाल, केवलको कालो तारका टुक्राहरू, पञ्जा, गलबन्दी र कम्बल समेत बरामद गरेको छ । घटनामा संलग्न चारै जनाविरुद्ध पर्सा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा ६ दिन म्याद अनुमति लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

Share your love