न्यूयोर्क र सिङ्गापुर विश्वको सबैभन्दा महँगा सहर

न्यूयोर्क र सिङ्गापुर विश्वकै सबैभन्दा महँगा सहर रहेको एक सर्वेक्षणले जनाएको छ । वार्षिक रूपमा सार्वजनिक गरिने इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू)को सर्वेक्षणले अमेरिकाको न्यूयोर्कलाई सबैभन्दा महँगो सहरका रुपमा सूचिकृत गरेको छ । दाेस्राे स्थानमा सिङ्गापुर सहर रहेकाे छ ।

‘कस्ट अफ लिभिङ’ अर्थात् जीविका मूल्य सूचांकका आधारमा याे सर्वेक्षण गरिएकाे हाे । त्यस्तो सूचीमा न्यूयोर्क पहिलो पटक सबैभन्दा माथि आएको हो । गएको वर्ष एक नम्बरमा रहेको तेल अभिभ अहिले तेस्रो नम्बरमा छ । त्यसपछि हङकङ, लस एन्जलस, जुरिक, जेनेभा, सान–फ्रान्सिस्को, पेरिस, सिड्नी र कोपेनहेगन रहेका छन् । ईआईयू सर्वेक्षणका अनुसार विश्वका ठूला सहरहरूको जीवन धान्न लाग्ने खर्च औसत ८ दशमलव १ प्रतिशतले बढेको छ ।

रुस–युक्रेन युद्ध र आपूर्ति शृङ्खलामा कोभिड महामारीले पारेको असर त्यसका मुख्य कारण ठानिएका छन् । ईआईयूले दुई सय भन्दा धेरै वस्तु तथा सेवाका चार सय भन्दा धेरै मूल्यलाई विश्वभरका १ सय ७२ सहरमा राखेर तुलना गरेको थियो । सूची अनुसार सबैभन्दा कम महँगा सहरहरुमा कोलम्बो, चेन्नई, अहमदावाद, कराची, तेहरान, ट्रिपोली, दमास्कसलगायत रहेका छन् ।
 

Share your love