नेपाली काँग्रेसले निर्वाचनका लागि घोषणापत्र तयार गर्दै

ललितपुर -नेपाली काँग्रेसले आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाएको छ । समितिले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपमा बैठक गर्दै घोषणापत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो ।

काँग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो । सो समितिमा पार्टीका सहमहामन्त्रीहरुका साथसाथै पार्टी भित्रका विभिन्न क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुनेगरी व्यक्तिहरुलाई समेटिएको छ ।

घोषणापत्र तयारी समितिको बैठकको बारेमा जानकारी दिँदै काँग्रेस केन्द्रीय समिति सदस्य गोविन्दराज पोखरेलले पार्टीले पाँच वर्षमा गर्नसक्ने कामहरुलाई राखेर मात्रै घोषणापत्र तयार गरिने बताउनु भयो ।

उहाँले घोषणापत्र तयारीका काम शुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘हामीले समग्रमा नेपाली काँग्रेसले अहिलेसम्म के गर्‍यो र आगामी दिनमा हामीले गर्न सकिने, नचाहिने लोक रिझ्याँइका सपना बाड्नुभन्दा पनि नेपाली काँग्रेसले अहिले उपलब्ध साधन, स्रोत र परिचालन गर्नसक्ने साधनमा आगामी पाँच वर्षमा गर्न सकिने कुराहरुलाई राखेर हामीले घोषणापत्र तयार गर्छौं । त्यसमा सबै क्षेत्र, वर्ग, समुदायलाई समन्वय गरी खाका आउने छ । जुन नेपाली काँग्रेसले आफूले गर्ने, आफूले जनतालाई गरेर देखाउनसक्ने प्रतिबद्धता त्यसमा जाहेर गर्नेछ । त्यसको लागि तयारी सुरु भएको छ ।’

उहाँले नेपाली काँग्रेसले घोषणापत्रमार्फत पूरा हुन नसक्ने खालका सपना नबाड्ने पनि स्पष्ट पार्नुभयो ।

Share your love