नेपालमै गोताखोर उत्पादन हुनु गौरवपूर्णः गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालजस्तो जल उत्पन्न जोखिम भएको देशमा आफ्नै गोताखोर जनशक्ति उत्पादन गरेर सशस्त्र प्रहरी बलले गौरवपूर्ण काम गरेको बताएका छन्।

बिहीबार सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन शिक्षालय कुरिनटारमा आयोजित गोताखोर तालिमको समापन समारोहमा उनले उक्त धारणा व्यक्त गरेका हुन्।

‘यो तालिम ठूलो योगदानको रुपमा अंकित हुनेछ,’ प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘जनताको सेवा गर्न सीपसहित आफूलाइ तयार गर्नु सामान्य र सजिलो योगदान होइन।’

गण्डकी प्रदेश सरकारसमेतको सहयोगमा २० जनाका लागि पाँच हप्तासम्म भएको सैद्धान्तिक एवं प्रयोगात्मक तालिममा सशस्त्रका जवान गणेशबहादुर थापा उत्कृष्टतामा प्रथम भएका थिए।

आफ्नै आवश्यकताका आधारमा सीपयुक्त गोताखोर उत्पादन गर्ने योजनाअन्तर्गत नेपालमा भएको यो तेस्रो तालिम हो। नेपालमै तालिम हुनुअघि बंगलादेशमा तालिम भएको थियो। तर, सामुन्द्रिक जल उत्पन्न प्रकोप बढी हुने बंगलादेशमा त्यही आधारको तालिम हुने गर्दथ्यो। नेपालमा भने बेगले बग्ने, चिसो बग्ने, बाढी आउनेजस्ता जल उत्पन्न जोखिमलाई यहीँको आवश्यकता आधारको तालिम जरुरी थियो। यो तालिमको अभ्यास त्रिशुली लगायतका नदी र फेवातालमा भएको थियो।

समारोहमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले जानकारी दिएअनुसार अघिल्ला तालिमहरूमा विदेशी प्रशिक्षकसमेत हुने गर्थे भने यसपटकका प्रशिक्षार्थी नेपाली नै हुन्।

यो तालिमसहित अब ७४ जना तालिम प्राप्त गोताखोर सशस्त्र प्रहरीमा छन्। जल उत्पन्न प्रकोपका हालसम्मका २२७ घटनामा ३२ जनाको जीवितै उद्दार गरिएको छ भने २४४ जनाको मृत्यु भएको छ।

समारोहमा नदीमा मानिस डुबेमा आकस्मिक निकाल्ने वा खोज्ने अभ्यासबारे प्रशिक्षार्थीबाट ‘डेमोन्स्ट्रेसन’ प्रस्तुत गरिएको थियो।

उपप्रधानमन्त्री श्रेष्ठसहित सहभागी अतिथिहरूले उद्दारमा प्रयोग हुने ‘रेफ्टबोटिङ’समेत गरेका थिए।

समारोहमा गण्डकी प्रदेशका पूर्व आन्तरिक मामला तथा कानुनमन्त्री डोबाटे बिक, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, विपत् जोखिम व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गण्डकी प्रदेश सरकारका सचिव बद्री अधिकारी, इच्छाकामना गाउँपालिका चितवनका अध्यक्ष दानबहादुर गुरुङसमेत सहभागी थिए।

उपप्रधानमन्त्री श्रेष्ठले शिक्षालयमा रहेको आपतकालीन उद्दारसम्बन्धी सामाग्रीहरूको समेत निरीक्षण गरेका थिए।

Share your love