‘नेताभन्दा पर्यटक आउँदा खुसी लाग्छ’

कोरोना महामारीका कारण करिब तीन वर्ष ताप्लेजुङको पर्यटन व्यवसाय ठप्प जस्तै भयो । तर, अहिले कोरोना सङ्क्रमण दर केही कम भएसँगै यहाँ पर्यटकको चहलपहल बढ्न थालेको छ ।  कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पर्ने ताप्लेजुङको सेखाथुम, घुन्सा, फुङलिङ लगायत गाउँ आजभाेलि हिमाल चढ्न पुगेका पर्यटकले भरिएका छन् ।

पर्यटन व्यवसायले गति लिन थालेपछि यहाँका स्थानीयमा ऊर्जा थपिएको छ । प्राय: समय पर्यटकको स्वागतमा व्यस्त हुने यहाँका स्थानीयलाई मंसिर ४ गते हुँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको रौनकले खासै छोएको छैन।

उनीहरु गाउँ भित्रिएका पर्यटकलाई स्वागत गर्न, खानेबस्ने लगायतका व्यवस्था मिलाउनैमा व्यस्त देखिन्छन् । पर्यटकका लागि खाना बनाउँदै गर्नुभएकी सेखाथुमकी पासाङ याङ्की भन्नुहुन्छ ‘फेरि चुनाव आयो र ? हामीलाई होटलमा काम गर्दैमा फुर्सद छैन। पर्यटकको भरमा हामी बिहान बेलुका गुजारा चलाउँछाैँ । हामीलाई त पर्यटककाे विश्वास लाग्छ तर नेताकाे लाग्दैन ।’ उहाँ पर्यटक आउँदा नेता आएको भन्दा धेरै खुसी लाग्ने बताउनुहुन्छ।

गएको वैशाखमा सम्पन्न पालिका चुनावमा भाेट दिनुभएकी शेर्पा मंसिरमा हुने चुनावमा पनि भाेट हाल्ने विचारमा हुनुहुन्छ । ‘हिउँ परे पनि भोट हाल्न चाहिँ जानुपर्छ । तर कसले जित्छ, हार्छ हामीलाई खासै चासो हुँदैन ।’ जितेर गएका नेताहरू अर्को चुनाव नुहुञ्जेलसम्म फर्केर नआएपछि उहाँलाई मन दु:खेकाे छ।

घुन्साका डुण्डु शेर्पाको पनि पासाङकाे जस्तै बुझाइ छ । घुन्सामा शेर्पा गेष्टहाउस सञ्चालन गर्दै आउनु भएका डुण्डु यतिबेला चुनावका लागि भन्दा पनि पर्यटककाे स्वागतका लागि व्यस्त रहेकाे बताउनुहुन्छ ।

‘गाउँमा पर्यटक आउँदा होटल भएकाकाे मात्र हैन, अन्यको पनि धेरथोर आम्दानी हुन्छ ।’ डुण्डु भन्नुहुन्छ,’ ‘त्यसैले स्थानीयलाई नेताभन्दा पर्यटक आएकोमा खुसी लाग्छ । पर्यटक आँगनमा आउँदा देवता आएको जस्तो लाग्छ । हाम्रा लागि पर्यटक सबै कुरा हुन जस्तो लाग्छ ।’ चारैतिर हिमाल र बीचमा रहेको घुन्सा गाउँ पुग्दा पर्यटक पनि निक्कै रमाउँछन् ।

घुन्सावासीको नेताहरूसँग पर्यटक हिँड्ने बाटो बनाइ दिएहुन्थ्याे भन्ने माग छ । ठाउँठाउँमा पहिराे गएकाले पर्यटकलाई हिँड्न समस्या भएकाे बताउँदै डुण्डु भन्नुहुन्छ ‘सकेजति पहिरो स्थानीयले हटायाैँ । सरकारबाट खासै केही सहयोग भएन ।’

फुङलिङमा मेवाखोला हिल रिसोर्ट चलाउँदै आउनु भएका सुरेश लिम्बुले यस वर्ष पर्यटकको आगमनले राहत मिलेकाे बताउनुभयो । गएकाे भदाै, असाेज र कात्तिक अहिलेसम्म गरी ५० जनाभन्दा बढी पर्यटक गाउँमा बास बसेका उहाँले बताउनुभयाे ।

पर्यटन व्यवसायकाे विस्तारका लागि सरकारी निकायबाट खासै सहयाेग नभएकाे स्थानीयकाे गुनासाे छ । पर्यटन प्रवर्द्धनका लागि चीनसँग सीमा जोडिएको उत्तरी ओलाङचुङगोला नाका नियमित रूपमा सञ्चालनमा ल्याउनु पर्ने उनीहरुकाे माग छ।

जर्ज व्यार्डको टोलीले पहिलो पटक सन् १९५५ मे २५ मा विश्वको तेस्राे अग्लाे हिमाल कञ्चनजङ्घाकाे सफल आरोहण गरेको थियो । त्यस समयमा ताप्लेजुङमा पर्यटकीय पूर्वाधार बनेकाे थिएन । अहिले पनि धेरै पूर्वाधार नबनेका कारण नेपालमा कञ्चनजङ्घा लगायत सात हजारमाथि उचाइ भएका २१ वटा हिमाल भए पनि त्यति पर्यटक भित्रिन सकेका छैनन् ।

गएकाे भदौ, असोज र कात्तिककाे यो अवधिसम्ममा ३ सय ५० जना पर्यटक जिल्ला भित्रिएका छन् । विशेषत फ्रन्स, जर्मनी, अमेरिका, बेलायत लगायतका देशबाट पर्यटक कञ्चनजङ्घा संरक्षण क्षेत्र आउने गरेका छन् ।

 

Share your love