नुहाउन गएका बाबु–छोरा बेपत्ता

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभा खोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारका अनुसार दुवै जना सोमवार दिउँसो आफ्नै गाडी लिएर सभा खोला गएका थिए । उनीहरू घर नफर्किएपछि आज आफन्तले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता बाबु–छोराको खोजी भइरहेको गोदारले बताउनुभयो । प्रदेश १–०२–००२ च ५९२० नम्बरको जीप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभा खोला किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजी गर्न दुई जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को नेतृत्वमा विभिन्न ठाउँमा प्रहरी टोली परिचालन गरिएको गोदारले बताउनुभयो । बेपत्ता तारानाथ अरुण तेस्रो आयोजनामा गाडी चालकका रूपमा कार्यरत थिए ।

Share your love