निहारिकाको विषयमा राष्ट्रपति भण्डारीद्वारा कानुनमन्त्री र महान्यायाधिवक्तासँग छलफल

शुक्रबार  राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपुतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गर्नुभएको छ । शनिबार  कानुनमन्त्री गोविन्द प्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर राष्ट्रपति भण्डारीले निहारिकाको विषयमा ध्यानाकर्षण गराउनुभएको हो ।

कानुनमन्त्री र महान्यायाधिवक्तासँग नियमित परामर्श गर्ने क्रममा आज भएको भेटमा राष्ट्रपति भण्डारीले निहारिकाको सन्दर्भमा गम्भीरतापूर्वक चासो व्यक्त गर्नुभएको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले बताउनुभयो ।  राष्ट्रपति भण्डारीको चासोपछि कानुनमन्त्री कोइरालाले निहारिकाको विषयलाई सरकारले गम्भीरताका साथ लिएको भन्दै थप पहल गर्ने बताउनुभएको पनि ढकालले बताउनुभयो ।

मन्त्री कोइरालाले निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशविरुद्ध कारबाही प्रक्रिया अघि बढिसकेको पनि जानकारी गराउनुभएको छ । ९ दिनदेखि वसन्तपुरमा अनशनरत निहारिका राजपुतले हिजो राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गर्नुभएको थियो । तर शरीरमा पेट्रोल छर्किसकेपछि प्रहरीले रोकेका कारण अप्रिय घटना हुनबाट जोगिएको थियो ।

निहारिकाले आफूमाथि बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्नेलगायतका माग राख्नुभएको छ । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्बिर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको बताउँदै आएकी निहारिकाले घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः जाँच गरिनुपर्ने माग गर्नुभएको छ ।

 

Share your love