निर्वाचन आयोगमा कांग्रेसले समानुपातिक बन्दसूची दुई वटा बुझाएको खुलासा

निर्वाचन आयोगमा नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको दुई वटा फरक फरक बन्दसूची बुझाएको खुलेको छ ।स्रोतका अनुसार सोमबार महामन्त्री विश्वप्रकाश शर्माले आधिकारिक भनेर बुझाए पनि राति शेखर कोइराला समूहले अर्को बन्दसूची पेस गरेको हो ।

नेताहरूले यसबारे भने बोल्न चाहेनन् । ‘लिस्ट अलि नमिलेको थियो । साथीहरू आयोगमै थिए म त्यसमा छैन । थाहा भएन,’ कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले भने । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेललाई यसबारे जिज्ञासा राख्दा समानुपातिक प्रणालीका प्रवक्ता गुरु वाग्लेसँग सोध्न भने ।

‘यसबारे आयोगका समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्ले जीलाई सोध्नुस्’, उनले भने । आयोगका समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले भने त्यस्तो नभएको बताए ।

कांग्रेस नेता मीन विश्वकर्मा दोहोरो सूची बुझाउन नमिल्ने बताउँछन् । ‘पार्टी सभापतिको हस्ताक्षर भएको लिस्ट एकमात्र हुन्छ नि । हल्लामात्र हो, उनले भने, ‘सभापतिले हस्ताक्षर गर्नुभन्दा अगाडि एउटा लिस्ट तयार भयो होला ।

अरु साथीहरूले यो पनि समावेश होस् भने होलान् । यो कुरा तपाईंबाट भर्खरै सुन्दैछु ।’आधिकारिक हस्ताक्षर नभै निर्वाचन आयोगले दर्ता गर्न नमिल्ने उनले बताए ।

Share your love