निर्वाचन आयाेगले भन्याे– ‘आमसञ्चार माध्यमकाे अनुगमन गर्दैनाैँ’

निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरीतका काम भए/नभएको सम्बन्धमा अनुगमन गर्ने भएको छ । आयोगले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरूको अनुगमन गर्ने उद्देश्य राखेर ‘प्रेस अफिस’  स्थापना गरेको हो ।

आज शुक्रवार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रेस अफिसको उद्घाटन गर्नुभयो । प्रेस अफिसको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले याे अफिसले सञ्चारमाध्यमको व्यवस्थापन, सहजीकरण तथा सूचना सम्प्रेषणसम्बन्धी विभिन्न काम गर्ने बताउनुभयो । त्यस्तै चुनावसँग सम्बन्धित कुराहरूको उत्पादन गर्दै डिजिटल माध्यम र आमसञ्चार माध्यमबाट सम्प्रेषण गरिने पनि उहाँले उल्लेख गर्नुभयो । सामाजिक सञ्जाल र डिजिटल मिडियामार्फत राजनीतिक दल तथा उम्मेदवारले आचारसंहिता विपरीतका क्रियाकलाप गरेको विषयमा पनि प्रेस अफिसमार्फत अनुगमन हुने उहाँकाे भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले आयोगले आमसञ्चार माध्यमको अनुगमन नगर्ने स्पष्ट पार्नुभयो । आयोगले आमसञ्चार माध्यमको अनुगमन गर्ने धृष्टता कहिल्यै नगर्ने उहाँको भनाइ छ । उहाँले कस्ता विषयवस्तुहरू गइराखेका छन् र त्याे विषयवस्तुले निर्वाचन व्यवस्थापनमा कत्तिको सहजीकरण भएको छ भन्नाका लागि आन्तरिकरूपमा विश्लेषण गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘आयाेगले आमसञ्चार माध्यमकाे अनुगमन गर्न सुरु गरेछ भन्ने कुरा सुन्ने गरेकाे छु । हामीले त्यस्तो धृष्टता कहिल्यै गर्दैनौँ । तपाईँहरू यसमा ढुक्क हुनु भए हुन्छ । आमसञ्चार माध्यमको अनुगमन भनेको अरू कसैले गर्ने होइन, स्वयम् आमसञ्चार माध्यमले नै गर्ने हो ।’

आयोगले हरेक दिनको गतिविधि समेटेर बेलुकी ६ बजेभित्र ई–बुलेटिन प्रकाशन गर्ने पनि आयुक्त थपलियाले जानकारी दिनुभयो । आयोगमा प्रवक्तासँगै थप तीन जना सहायक प्रवक्ता पनि बनाएको र विषयवस्तु हेरेर सहायक प्रवक्ताहरूसँग पनि सूचना लिन सकिने उहाँले बताउनुभयो । प्रेस अफिसमा आयोगका प्रवक्ताको नेतृत्वमा २७ जना विभिन्न क्षेत्रका कर्मचारी रहने उहाँले उल्लेख गर्नुभयो ।
यस्तै तीन जना विभिन्न क्षेत्रका विज्ञलाई पनि नियुक्त गरिएको उहाँले जानकारी दिनुभयो ।

आयुक्त थपलियाले चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका निम्ति आमसञ्चार माध्यमको अत्यन्त महत्त्वपूर्ण भूमिका रहने भन्दै पत्रकार आचारसंहिता २०७३ का प्रावधानहरूलाई चुनावमा प्रयोग गर्न आग्रह पनि गर्नुभयो ।

Share your love