निजगढ विमानस्थल नेपालले बनाउन सक्दैन भनेर गलत प्रचार भइरहेको -महानिर्देशक अधिकारी

काठमाण्डौ – नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई। प्रदीप अधिकारीले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल सरकारको लगानीमा बनाउने बताउनुभएको छ ।

बुधवार न्युज एजेन्सी नेपालसँ कुरा गर्दै महानिर्देशक अधिकारीले प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थल कुनै पनि विदेशी लगानीविना नेपाल सरकारकै लगानी र नेपाली प्राविधिकहरूबाट नै बनाउने बताउनुभएको हो । विमानस्थल नेपाली प्राविधिक र सरकारले बनाउन नसक्ने भनेर गलत प्रचार भइरहेको भन्दै उहाँले त्यसको खण्डन पनि गर्नुभयो ।

महानिर्देशक अधिकारीले निजगढ विमानस्थल विज्ञ समूहले दिएको सुझावको आधारमा सरकार र प्राधिकरण आफैँले बनाउने जिकिर गर्नुभयो । उहाँले विमानस्थल बनाउन ६० प्रतिशत नेपाल सरकारले र ४० प्रतिशत प्राधिकरणले लगानी गर्ने विज्ञ समूहको समेत सुझाव रहेको सुनाउनुभयो ।

महानिर्देशक अधिकारीले विमानस्थल बनाउने लागतका हिसाबले जङ्गल कटानदेखि अन्य निर्माणका लागि सात वर्षको समय अवधिमा एक खर्ब २० अर्बका लागि वार्षिक १७ अर्ब रुपैयाँ जम्मा गर्दा पुग्ने बताउनुभयो । यसमा १० अर्ब सरकारले र सात अर्ब प्राधिकरणले लगानी गरेर विदेशी लगानीकर्ता नखोजी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सक्ने बताउनुभयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीकै क्रममा महानिर्देशक अधिकारीले नेपालमा विकास निर्माणसम्बन्धी ऐनलाई नै संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले निजगढ अन्तरौष्ट्रिय विमानस्थल आवश्यकता भएर खर्बौँ रुपैयाँ खर्च भएको दाबी गर्नुभयो । प्रस्तावित स्थानमा विमानस्थल बनाउन उपयुक्त हो वा होइन भन्ने विषयमा अझै पनि वृहत् छलफल गर्नुपर्ने उहाँको भनाइ छ ।

महानिर्देशक अधिकारीले पछिल्लो समय नेपालमा वार्षिक १० लाख हवाई यात्रु बढ्दै गएको बताउनुभयो । अब एसिया प्यासेफिक क्षेत्रमा नै हवाई यात्रु बढ्दै जाने देखिएको उहाँको भनाइ छ । उहाँले अन्तर्राष्ट्रिय वा आन्तरिक विमानस्थल क्षणिक समयका लागि नभएर आवश्यकतालाई हेरेर ५० वर्षको योजनामा बनाउनुपर्ने बताउनुभयो ।

महानिर्देशक अधिकारीले विमानस्थल सञ्चालनमा आएको भोलिपल्ट नै पूर्णरूपमा सञ्चालनमा आउन नसक्ने बताउनुभयो । पूर्णरूपमा सञ्चालनमा आउनका लागि समय लाग्ने उहाँको भनाइ छ ।

Share your love