नागरिकता विधेयक रोक्न परेको रिटको सुनुवाइ ‘हेर्न नमिल्ने’मा

नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ को प्रमाणीकरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको मंगलबारको सुनुवाइ स्थगित भएको छ । संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइएको विधेयक रोक्न माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्न मंगलबार पेसी चढाइएको थियो ।

तर, ‘हेर्न नमिल्ने’ कारण देखाएर सुनुवाइ स्थगित गरिएको छ । वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले दायर गरेको रिटमा नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखेका छन् । सर्वोच्च अदालतका न्यायाधीश डा। मनोजकुमार शर्माको इजलासमा पेसी चढेको भए पनि ‘हेर्न नमिल्ने’ कारण देखाएर मंगलबार स्थगित गरिएको सुनुवाइ बुधबार हुने भएको छ ।

न्यायाधीश शर्मा र वकालतनामा वरिष्ठ अधिवक्ता रमेश बडालको नाम रहेको र उनीहरू पहिला एउटै ल फर्ममा काम गरेको कारण देखाएर उक्त रिटमाथिको मंगलबार हुने भनिएको सुनुवाइ ‘हेर्न नमिल्ने’मा परेको हो ।

अधिवक्ता भण्डारीले निवेदनमा राष्ट्रपति कार्यालयसहित प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र गृहमन्त्रीलाई विपक्षी बनाएका छन् । गत २० भदौमा संघीय संसदका दुवै सदनबाट पारित गरेर नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको छ । तर राष्ट्रपति विद्यादेवी भण्डारीले भने प्रमाणीकरण गरेकी छैनन् ।

Share your love