नागरिकता विधेयक बहुमतले पारित

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको नागरिकता विधेयक जस्ताको तस्तै बहुमतले पारित भएको छ । विधेयक पारित गर्नका लागि मतदान भएको थियो ।

संसदमा एक सय ९५ जना सांसद उपस्थित भएकामा पक्षमा एक सय ३५ जनाले पक्षमा मतदान गरेका थिए । यस्तै विपक्षमा ६० जनाले मतदान गरेका छन् । मत दिन्न भन्नेमा कसैले पनि मतदान गरेनन् ।

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिको सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । त्यो प्रस्ताव मत विभाजनबाट पारित भएको हो ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले गएको साउन १५ गते प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक राष्ट्रपति भण्डारीले साउन २९ गते संसदमै फिर्ता पठाउनुभएको थियो । राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा फिर्ता पठाउनुभएको थियो ।

अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभाको बैठक भदौ ६ गतेका लागि बोलाइएको छ । त्यहाँबाट पनि पारित भइसकेपछि फेरि प्रतिनिधि सभामै आउनेछ । त्यसपछि सभामुखले प्रमाणीकरण गरेर राष्ट्रपतिकोमा पठाउनुहुनेछ । सरकारले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

Share your love